काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय आकांक्षा पूरा गर्न सिङ्गो देश लाग्नुपर्नेमा जोड दिएकी छिन् । ६९औं प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय आकांक्षाको सम्बोधनमा जोड दिएकी हुन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘आजको दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् ।’ भण्डारीले सन्देशमा प्रजातान्त्रिक आन्दोलनका उपलब्धि थप संस्थागत गर्नसमेत जोड दिएकी छिन् ।
२००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेको स्मरण गर्दै सन्देशमा भनिएको छ, ‘प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व उपलब्धिहरु हासिल गरेका छौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षको प्रतिफल हो।’
उनले नेपालको संविधान कार्यान्वयनको क्रममा रहेकोले सम्पूर्ण नेपालीको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप उर्जा दिने विश्वास व्यक्त गरेकी छिन् ।
‘६९औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ।



लाेकपाटी न्यूज

