काठमाडौं, ६ फागुन । भारतले पाकिस्तानलाई अलग्याइदिने चेतावनी दिएको छ । कास्मिरमा एक आत्मघाती हमलाकारीले गराएको विस्फोटमा भारतीय अर्धसैनिक बलका ४६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानलाई पूर्ण रूपमा एक्ल्याइदिने चेतावनी दिएको छ।
बिहीबार भएको उक्त आक्रमण कश्मीरमा दशकौँ यता भएका हमलामध्ये सबैभन्दा घातक थियो। उक्त हमलामा पाकिस्तानको हात रहेको प्रमाण रहेको दावी भारतीय पक्षको छ । छिमेकीको संलग्नता भएको निर्विवाद प्रमाण भएको भारतले बताएको छ। तर, सो प्रमाण उसले उपलब्ध गराएको छैन।
पाकिस्तानले भने जैशए मोहम्मदले जिम्मा लिएको सो हमलामा आफ्नो कुनै भूमिका र संलग्नता नभएको स्पष्टिकरण दिएको छ । उत्त संगठन पाकिस्तानमा क्रियाशील रहेकोले पाकिस्तानले संरक्षण दिएको आरोप भारतको छ । भारतले यस घटनापछि पाकिस्तानलाई अन्तराष्ट्रिय समुदायसँग पुरै अलग्याउन पहल शुरु गरिसकेको छ ।
भारतका केन्द्रीय मन्त्री अरूण जेट्लीका अनुसार पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूर्णतः अलग्याइदिन भारतले हरसम्भव कूटनीतिक कदम चाल्नेछ। जेट्लीका अनुसार उसले पाकस्तानले पटक–पटक भारतमा विभिन्न रुपका आक्रमण जारी रहेको तथा अहिले सैनिकमाथि नै तारो बनाएकाले अब पाकिस्तानसँग सहकार्य हुन नसक्ने निष्कर्ष निकालेको हो ।
तर पाकिस्तानका एक मन्त्रीले चाहिँ पहिले भारतले प्रमाण पेश गर्नुपर्ने बताएका छन् । उनले पाकिस्तानलाई त्यत्तिकै आरोपित गर्न नहुने बताए । उनले उक्त हमलाबारे अनुसन्धानमा पाकिस्तानले सघाउने पनि बताए। तर, भारत उनको यो भनाइ मान्न तयार देखिँदैन ।
सन् १९८० को दशकको अन्त्यदेखिनै भारत प्रशासित कश्मीरमा विद्रोह जारी छ। पछिल्ला वर्षहरूमा त्यहाँ हिंसात्मक घटनाहरूमा वृद्धि भएका छन्। भारत र पाकिस्तान दुवैले मुसलमान बहुल कश्मीरको पूरै भाग दावी गर्छन् । तर, दुवैले केही भागमा मात्र नियन्त्रण कायम गर्न सकेका छन् ।
पहिलेका हमलाहरूपछि पनि भारतले पाकिस्तानविरुद्ध कूटनीतिक कारबाही गरेको थियो। सोही कारण अहिले भारतले पाकिस्तान समेत सदस्य रहेको दक्षिण एसियाली देशहरूको संगठन सार्कभन्दा पाकिस्तान सदस्य नरहेको बिमस्टेकजस्ता क्षेत्रीय संगठनलाई बढ्ता प्रबर्धन गरिरहेको छ।
शुक्रबार राजधानी दिल्लीमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हमलाकारी तथा षडयन्त्रकारीहरूले महङ्गो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। उनले सुरक्षाकर्मीहरूलाई उचित समय, उचित स्थान र उचित स्वरूपमा कारबाही गर्न आफूले अनुमति दिइसकेको बताए।
विश्लेषकहरू मोदीको भनाइपछि अब भारतले कुनै न कुनै स्वरूपमा बदलाको कार्य गर्न सक्ने ठान्छन् । तर, ठूलो हिमपातका कारण हाल भारत सरकारसँग सीमित सैन्य विकल्प मात्र रहेको उनीहरू बताउँछन् ।
सन् २०१६ मा भारतीय सैनिक शिविरमा भएको हमलामा १९ सैनिक मारिएपछि दिल्लीले बदलास्वरूप पाकिस्तान प्रशासित कश्मीरमा पसेर सैन्य कारबाही गरेको बताएको थियो।



लाेकपाटी न्यूज

