प्रचण्डलाई पशुपति शर्माको गीत मन परेपछि…

Prachand
लाेकपाटी न्यूज

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गायक पशुपति शर्माको गीत बन्द गराउने सरकारको कार्यप्रति असन्तुष्ट भएको बताएका छन् ।

उक्त प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेका बेला उनले गायक शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बन्द गराउन नहुने बताएका हुन् ।

खुमलटार उच्च स्रोतका अनुसार प्रचण्डले सरकारले जनतामा व्याप्त असन्तुष्टि सम्बोधन गर्नुको साटो उल्टै ‘एक्सन’ गरेर जनमत घटाएको टिप्पणी गरे ।

प्रचण्डले शर्माको गीत पुरै सुनेको र गीतले अहिलेको यथार्थतालाई व्यक्त गरेको बताएका छन् । ‘गीत बन्द गराएको चर्चापछि उहाँले पूरै सुन्नुभयो’, स्रोतले भन्यो, ‘गीत उहाँलाई मन पर्‍यो रे ।’

प्रचण्डले शर्माको गीतले समाजका हरेक क्षेत्रमा व्याप्त विकृतिलाई व्यंग्य गरेको भन्दै सरकारले त्यसलाई समाधान गर्नुपर्नेमा उल्टै गीतै बन्द गराएर गल्ती गरेको निस्कर्ष निकालेका छन् ।

उनले त्यसबारे प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचेत समेत गराउने बताए । ‘सरकारले जनभावना बुझेर त्यसअनुसार अगाडि बढ्नुपर्नेमा उल्टो काम गरेको छ’, नेकपाका एक नेताले भने ।

सरकारले शर्माको गीतमा राष्ट्रपति, सरकार र नेताहरुमाथि अनावश्यक आरोप लगाएको भन्दै युट्युवबाट हटाउन दबाब आएपछि हटाएको गायक शर्माले बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने माइतीघर घण्डलामा आइतबार शर्माको गीत बजाएर विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्