काठमाडौं, ६ फागुन । कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । नेकपाले पार्टी एकताको काम टुंग्याउन सचिवालय बैठक बोलाएको हो ।
एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि आवश्यक निर्णयका लागि बैठक बस्ने भएको हो ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले कार्यदलबाट टुंगो लाग्न नसकेपछि प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउन लागेका हुन् ।
सचिवालय र स्थायी समिति बैठकमा प्रस्तुत गर्न अध्यक्षद्वय ओली र प्रचण्डले एकताको प्रस्ताव तयार पार्न पटकपटक छलफल गरेका छन् । दुवै अध्यक्षले आइतबारसमेत पार्टीका केही नेतालाई बालुवाटार बोलाई अनौपचारिक छलफल गरेका थिए ।
पछिल्लो कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई पनि बालुवाटार बोलाई अध्यक्षद्वयले आइतबार एकता गृहकार्यबारे छलफल गरेका थिए । दुई अध्यक्षले माघ २६ देखि नै तल्लो तह र जनवर्गीय संगठनको एकता प्रस्ताव तयार पार्न निरन्तर छलफल अघि बढाएका छन् ।
सचिवालयका केही सदस्यहरु भने कार्यदलकै बहाना बनाएर एकता पर धकेल्ने रणनीतिमा रहेको बुझेपछि ओली र प्रचण्ड एकताको बिषयमा केही गम्भीर बनेको स्रोतको भनाई छ ।
स्थायी समितिले गठन गरेको पछिल्लो कार्यदलले समय थप्ने माग बाहेक कुनै सहमति जुटाउन नसकी प्रतिवेदन बुझाएको छ । आजको सचिवालय बैठकमा सोही बिषयमा समेत छलफल हुनेछ ।
नेकपाले केन्द्रीय निकायहरू (केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च), ३२ केन्द्रीय विभाग र भूगोलका ७७ जिल्लाको एकता टुंगो लगाउन बाँकी नै छ ।
त्यसैगरी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, चार विशेष जिल्ला कमिटी र तिनलाई नेतृत्व गर्ने प्रदेशसरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी गठन गर्न पनि नेकपाले सकेको छैन ।
प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरू केन्द्रदेखि स्थानीय तहसम्मको पनि बाँकी रहेको छ । एकता पर धकेलिँदा कार्यकर्तामा उत्साह मर्न थालेको छ ।



लाेकपाटी न्यूज

