काठमाडौं, ५ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । कर्णले वर्तमान सरकारको एक वर्षे कार्यकालमा कोही पनि जनता सन्तुष्ट नभएको टिप्पणी गरेका हुन् ।
कर्णले भने, ‘केवल भाषण गर्दैमा देश बन्दैन । देश बनाउनको लागि त विकास गर्नुपर्छ । समृद्धि ल्याउनको लागि काम गर्नुपर्छ । अहिले मुलुकको आर्थिक अवस्था डामाडोल छ ।’
एक वर्षमा विकास निर्माण, सुशासन, सदाचार र नियुक्ती प्रक्रिया केही पनि राम्रो नभएको उनको भनाइ छ । विदेश नीतिमा पनि सरकार फेल भएको उनको तर्क छ ।
उनले आफूहरुले संविधान संशोधनको आशमा यो सरकारलाई समर्थन गरेको बताउँदै भने, ‘तर हामी अहिले संसदमा विपक्षको बेन्चमा बसेका छौं । त्यसैले अब राजपाले कहिले समर्थन फिर्ता लिन्छ भनेर उद्युम मच्याईरहनु पर्दैन् ।’
प्रधानमन्त्री ओलीले आफूहरुलाई पटक–पटक संविधान संशोधन गर्छु भनेर आश्वासन दिएकोले पनि समर्थन जारी राखेको कर्णले स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीले हामीलाई पटक–पटक आश्वासन दिनुभएको छ, कहिले ७ दिनभित्र अघि बढाउँछु भन्नुभएको छ, कहिले तीन महिना भन्नुहुन्छ, अब पार्टीले यस विषयमा खास गरेर समर्थन जारी राख्ने वा नराख्ने भन्ने विषयमा अब बस्ने बैठकमा ठोस निर्णय गर्छ ।’
कर्णले भ्रष्टाचार बढ्नुको मुख्य कारण पनि सुनाए । उनले भने, ‘कर्मचारीको तलब थोरै छ, सन्तानलाई महँगो स्कुलमा पढाउँछन्, आलिसान महलमा बस्छन् । सबभन्दा धेरै ६० हजार तलब पाउने कर्मचारीले पनि यसरी एक लाख तिरेर बालबच्चा पढाउने अनि आलिशान बंगलामा बसेपछि भ्रष्टाचार भैहाल्छ नि ।’



लाेकपाटी न्यूज

