काठमाडौं, ५ फागुन । हिन्दु परिषद नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आईतबार रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले यस्तो घोषणा गरेको हो ।
कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष पटेलले कुनैै पनि बहाना र जबरजस्ती धर्म परिवर्तन गराउन नपाइनेमा जोड दिएका छन् । उनले आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिष्टियन धर्मको विरोधी नभएको तर ९० प्रतिशत हिन्दु भएको देश नेपाललाई हिन्दुराष्ट्र नै कायम गनुपर्ने माग राखे ।
उनले भने,‘हामी कोही पनि हिन्दुको भावनामाथि भएको अन्याय र अत्याचारलाई सहन सक्दैनौं । हामीलाई कुनै राजनीतिक दल र राजाबादीसंग जोडेर नहेर्न पनि अनुरोध गर्दछौं ।’
पछिल्लो समय मुलुकमा क्रिश्चियन धर्मसम्बन्धी गतिबिधि बढ्दै गएको आरोप लगाउँदै उनले पहिला हिन्दुभित्रै रहेका तल्लो जात र माथिल्लो जातको बीचको विभेद हटाउनुपर्ने धारणा राखे । उनले हिन्दुभित्रै जातको विभेदमा बाँचेकाहरु नै आज आफ्नो धर्म त्यागेर अरु बाह्य धर्म अंगाल्न पुगेको आरोप लगाउँदै पटेलले थपे ‘कुनैपनि राष्ट्रमा पहिले मुल धर्मलाई आत्मसात गर्न सक्नुपर्छ’ ।
नेपालको संविधानमा नै जबरजस्ती धर्म परिवर्तन गर्न नपाइने भनेर स्पष्ट रुपमा लेखेको उल्लेख गर्दै उनले आज देशलाई नै हिन्दुविहिन बनाउन लाग्दा पनि सरकारको त्यतातर्फ ध्यान नपरेकोमा आपत्ति जनाए ।
धर्म परिवर्तनको बहानामा संसारमा नेपाल र नेपालीको पहिचान बोकेको हिन्दु धर्ममाथि नै पछिल्लो समय प्रहार भएको पनि उनले गुनासो पोखे । उनले आगामी पाँच बर्षभित्र २५ लाख नेपालीलाई हिन्दु धर्ममा जोड्ने आफूहरुको अभियान रहेकोे पनि जानकारी गराए । सरकारलाई दबाव दिनकै निमित्त मेचि–महाकाली अभियानको शुरुवात गरिसकेको पनि उनले जनाए ।
उनले देशमा विद्यमान सबै हिन्दु धर्मसम्बन्धी संघ तथा संगठनहरु अब हिन्दू धर्मको संरक्षणमा लाग्नु पर्नेमा जोड दिए ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाई काटेर खान गरेको आग्रहलाई उनलाई भोट दिने जनताले नै उनको पुत्ला जलाएर बिरोध गरेको स्मरण गराउँदै उनले भने,‘जनताले बाबुरामलाई राम्रो सबक सिकाए, त्यही कारण अहिले नेपालका कम्युनिष्टहरु हिन्दु धर्ममा आस्था राख्ने भएका छन । सम्पूर्ण नेपालीको एउटै भावना र धर्म भनेको हिन्दु नै हो, राजनीतिक दलहरुले एजेन्डा परिवर्तन गरेजस्तै धर्मको नाममा राजनीति नगर्न पनि म आग्रह गर्दछु ।’
कार्यक्रममा आफू कुनै पार्टी तथा राजाबादी र भारतबाट परिचालित नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘देशमा शासन व्यवस्था जे होस्, नेपाल हिन्दुराष्ट्र बन्नुपर्छ ।’ आफूहरुको एजेण्डालाई विभिन्न दलका सांसद तथा देशका धेरै मेयरहरुले सर्मथनको आशय व्यक्त गरिसकेको पनि उनले जानकारी गराए ।
उनले आफ्नो संगठनको नेपालभरि करीब ४० जिल्लामा संगठन विस्तार भैसकेको पनि जनाए । देश परिवर्तनको अभियानमा आफ्नो पनि संलग्नता रहेको बताउँदै उनले अहिले देशमा हिन्दु नाम भएर पनि त्यो मान्छे को बाट सञ्चालित रहेको छ ? भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा परिषदका महासचिव अनिरुद्ध प्रसाद सिंह, सचिवालय सदस्य भरत सरार्फ, हिन्दु महिला परिषद्को केन्द्रीय अध्यक्ष सुनिता रौनियार, हिन्दु महिला परिषद्को केन्द्रीय बरिष्ठ उपाध्यक्ष सरला कार्की, हिन्दु महिला परिषद्की उपाध्यक्ष साधना यादव र यूवा परिषद्का नगर अध्यक्ष रञ्जित चौरसियालगायतको सहभागिता रहेको थियो ।



लाेकपाटी न्यूज

