काठमाडौं, ४ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र शिक्षकको समस्या समाधान गर्न वर्तमान सरकार र आफ्नो पार्टी लागि पर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।
माध्यमिक शिक्षक विद्यालय शिक्षक युनियन नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकारले सङ्घीय संसद्मा सङ्घीय शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेकाले सोही विधेयकमार्फत धेरैजसो समस्या समाधान हुने बताए । अध्यक्ष दाहालले एकाध दिनमा नै सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश हुने बताउँदै सो विधेयकले शिक्षकका धेरै माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
शिक्षा क्षेत्रलाई अहिलेको सरकारले प्रमूख प्राथमिकतामा राखेको भन्दै अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा रहेका सबै समस्यालाई हल गर्दै मुलुकलाई समाजवादी प्रणालीमा लैजान आफू क्रियाशील रहेको बताए ।
शिक्षालाई जीवन उपयोगी बनाउनेतर्फ आफूहरु अगाडि बढिरहेको स्पष्ट पार्दै उनले शिक्षालाई नीतिगत सुधार गर्दै व्यावसायिक र प्राविधिक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई मौलिक हकमा राखेर कानूनी व्यवस्थासमेत गरिएको बताउँदै दाहालले शिक्षा क्षेत्रमा सुधार नगरी नहुने अवस्था आएको समेत स्पष्ट पारे ।
उनले नेपालको राजनीतिमा प्रायजसो नेता शिक्षक समुदायबाट आएकाले यस क्षेत्रको समस्याप्रति धेरै राजनीतिक नेतृत्व जानकार रहेको बताएका छन् । उनले भने, म आफू पनि शिक्षकबाटै राजनीतिमा आएकाले मलाई शिक्षा क्षेत्रका धेरै समस्याको जानकारी ।
कार्यक्रममा बोल्दै उनले सामुदायिक उच्च माध्यमिक विद्यालयमा निरन्तर अध्यापन गरेका शिक्षकको माग सम्बोधन गर्दै विद्यालयमा प्राप्त अभिलेखका आधारमा सेवासुविधाको व्यवस्था गर्न विशेष पहल गरिने बताएका छन् । विगतमा उच्च मा.विमा अध्ययन गराउँदै आएका ६ हजार शिक्षकको दरबन्दी कायम गरी उनीहरुलाई एक पटक आन्तरिक रुपमा प्रतिस्पर्धाको व्यवस्था गराउन पहल गर्ने अध्यक्ष दाहालले वचन दिएका छन् ।



लाेकपाटी न्यूज

