‘सामान्य क्रमिक विकासले देशको अर्थतन्त्र मजबुत बन्दैन’

Baburam-Bhattarai-2
लाेकपाटी न्यूज

पोखरा, ३ फागुन । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार जनचाहाना अनुरुप अघि बढ्न नसकेको बताएका छन् ।

शुक्रबार संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताएका हुन् ।

उनले भने, ‘सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य क्रमिक विकासका क्रममा अघि बढेको छ, जसले देशको अर्थतन्त्र पनि मजबुत बन्न सक्दैन । ’

गरीबी, बेरोजगारीको समस्या बढ्दै गएको भन्दै डा. भट्टराईले औषत प्रतिव्यक्ति आय रु १० हजार डलर पुर्याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अङ्कमा बढ्नुपर्ने आवश्यकता औँल्याए । निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको उनको भनाई छ ।

समृद्धिका लागि सडक पूर्वाधार विकास आवश्यक रहेको भन्दै उनले तराई हुलाकीमार्ग, मध्यपहाडी हुलाकीमार्गका साथै उत्तरदक्षिण जोड्ने गरी कोशी, कालीगण्डकी, कर्णाली करिडोरलगायतको निर्माणकार्यलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए ।

नयाँ शक्ति पार्टीले असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा जारी राखेको बताउँदै उनले यात्राका क्रममा मध्यपहाडी राजमार्गको निर्माणकार्यको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा सर्वसाधारणसँग संवाद समेत गरिएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्