कञ्चनपुर, ३ फागुन । शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट गएराति ५ किलो ६ सय ग्राम सुन पुन: बरामद भएको छ । १८ किलो सुन बरामद भएको १५ घण्टा नबित्दै प्रहरीले उक्त सुन बरामद गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), अपराध महाशाखा र कैलाली–कञ्चनपुर ‘पुनर्वास’ प्रहरीको संयुक्त टोलीले अमरपुरका लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । तिरुवाको घरबाट गएराति १ बजेतिर सुन बरामद गरेको कञ्चनपुर प्रहरीले जानकारी दियो ।
बिहिबार कञ्चनपुरको दक्षिणी पुनर्वास क्षेत्रस्थित एक स्थानीयको घरभित्र खाल्टोमा लुकाएर राखेको अवस्थामा १८ किलो सुन बरामद भएको थियो । शंकर विकको घरबाट बिहीबार दिउँसो ११ बजेतिर उक्त सुन बरामद गरेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह खडायतले लक्ष्मण तिरुवाको घरबाट राती नै सुन बरामद गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको बताए ।
केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सुदिप गिरी नेतृत्वको टोलीले २३ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।


लाेकपाटी न्यूज

