काठमाडौँ, २ फागुन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नचाहेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको ‘वार्षिक साधारणसभा’का अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले सरकार व्यवसायीलाई दुःख दिएर अगाडि बढ्न नचाहेको बताएका हुन् । उनले यातायात क्षेत्रमा भएको लगानी नडुबोस् भन्ने सरकारको चाहना रहेको प्रष्ट्याएका छन् ।
मन्त्री महासेठले यातायात महासङ्घसँग सहकार्य गरेर सरकार अगाडि बढ्न चाहेको बताउँदै यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायी लाग्नुपर्ने समेत बताएका छन् ।
उहाँले यातायात क्षेत्रका विज्ञ व्यक्तिले दिएका सुझावका आधारमा यातायात निर्देशिका संशोधन गर्दै अगाडि बढ्ने स्पष्ट पारे । बढ्दो सवारी साधनलाई ध्यानमा राखेर सरकारले छ हजारदेखि आठ हजार किलोमिटरसम्म नयाँ सडक कालोपत्र गर्न लागेको समेत मन्त्री महासेठले जानकारी दिएका छन् । यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्न सरकार लागेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री मुकुन्द न्यौपानेले यातायात क्षेत्रभित्रको समस्याका लागि व्यवसायी आफैं जागरुक हुनुपर्ने बताएका छन् ।
त्यस्तै कनेपाली काङ्ग्रेस नेत्री एवं पूर्वमन्त्री सीता गुरुङले मुलुकको निर्माण र सामाजिक सेवाका लागि यातायात व्यवसायीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नसक्ने बताएकाी छन् ।
सोही क्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले यातायात व्यवसायीसँग छलफल नगरी निर्देशिका जारी गरेको भन्दै यसलाई सच्याउन सरकारसँग माग गरे ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष अजयकुमार राई, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष सोम तामाङ, नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारीलगायतले मुलुकको समग्र यातायात सुधारका लागि सरकारले व्यवसायी र मजदूरलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
महासङ्घका महासचिव सरोज सिटौलाले साधारणसभाले मुलुकको समग्र यातायात क्षेत्रमा देखिएको समस्या समाधान गरी यातायात क्षेत्रको विकासका लागि सरकारलाई सुझाव दिने बताए ।



लाेकपाटी न्यूज

