काठमाडौं, २ फगुन । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले ‘समृद्ध नेपाल सुखि नेपाली’ को नारालाई सार्थक तुल्याउन ‘जनताको जलविद्युत आयोजना’ ल्याएको बताएका छन् ।
उनले राष्ट्रिय सभागृहमा आयोजित ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखि नेपाली’को नारा सार्थक तुल्याउने बताएका हुन् ।
नेपालको सबैभन्दा धेरै उपलब्ध प्राकृतिक स्रोत पानीको सहि ढंगबाट प्रयोग र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुरुप जनताको सहभागितामा उक्त कार्यक्रम संचालनमा ल्याइएको उनले जानकरी दिए । जनताको जलविद्युत कार्यक्रमलाई बजेटमार्फत नै फरक ढंगबाट अघि बढाउने निर्णयअनुरुप सम्बन्धीत निकायसंगको अन्तक्रियाबाट यो आयोजना सुरु हुन लागेको उनको भनाई थियो ।
हरेक नेपालीलाई विद्युतको शेयरधनी हुनका लागि आफ्नो र प्रधानमन्त्री ओलीको दृष्टिकोण अन्तरहित भएको उनले बताए । उनले भने, ‘कोही असाध्यै धनि, कोही असाध्यै पछि, गरिबी र विपन्नताको अवस्थामा हुने छैन ।’
उनले समृद्धिका लागि संघ संस्था, निजी क्षेत्र तथा जनताले सहयोग गर्ने अपेक्षा राखिएको प्रस्ट पार्दै यो कार्यक्रम ३ करोड नेपालीको जनसहभागितासहितको कार्यक्रम बन्ने विश्वास व्यक्त गरे ।
‘जनताको पकेट पकेटमा रहेको सानो सानो लगानीलाई यसमा संलग्न गराइने छ ।’ उनले भने, ‘यस अन्तर्गत रहेको करिव १९ वटा आयोजना र ३ हजार मेगावाट विद्युतका लागि करिब लागत ७ खर्ब अनुमान गरिएको छ ।’
यो कार्यक्रम हिमाल पहाड तराई मधेसमा रहेका सबै जनताले लगानी गर्ने राष्ट्रिय अभियान बन्ने उनको दावी छ ।



लाेकपाटी न्यूज

