लमजुङ, २ फागुन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले आफू गर्न नसक्ने र अरुलाई पनि गर्न नदिने नेताहरुको शैलीले समृद्धिको अभियान अवरुद्ध भएको बताएका छन् ।
पुष्पलाल लोकमार्गमा सञ्चालित एकमहिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले इतिहासको कथा सुनाएर विकास नहुने बताएका हुन् । उनले भने,‘ कि आफूले क्षमता विकास गर्न सक्नुर्पयो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुर्पयो । कुर्सी ओगटेर मात्र देशलाई पछाडि नधकेलौँ ।’
उनले हिजो लडाईँ र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप समेत लगाए । ‘कतै हाम्रा नेताहरुसँग विकास र समृद्धिको आधारभूत ज्ञानको समेत अभाव भएको त होइन ?’ उनको प्रश्न थियो ।
आउँदा केही महत्वपूण दशकहरुलाई राजनीतिक नेतृत्वले ध्यान दिन नसक्दा मुलुक थप पिछडिने उनको भनाई छ ।
‘क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरु सत्तामा पुगेपछि विचलित हुने रहेछन्,’ उनले भने,’ आन्दोलनमा ज्यानै दिन तयार हुनेहरु सत्तामा पुगेपछि जनता विरुद्ध काम गर्न थाल्दा रहेछन्, सत्ताको चास्नीमा डुब्ने रहेछन् । भ्रष्टाचार र ठूला काण्डहरुमा मुछिने रहेछन् ।’
जनताको हस्तक्षेप र निगरानी बढाउने लोकतन्त्रको विकल्प नरहेको बताउँदै भट्टराईले लोकतन्त्रको विकल्प निरंकुशता हुन नसक्ने तर्क गरे ।



लाेकपाटी न्यूज

