एजेन्सी । मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र संसद्बीच सहमति भएको छ । रकम अभावमा संघीय कार्यालयमा कामकाज पुनः बन्द हुने अवस्था आएपछि यस्तो सहमति भएको हो ।
सोमबार राती भएको उक्त सम्झौताअन्तर्गत सिमानामा पर्खाल बनाउन १ अर्ब ४० करोड अमेरिकी डलर बजेट विनियोजन गरिने भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प कुनै पनि हालतमा पर्खाल बनाउनबाट पछि नहट्ने दृढ भएपछि विपक्षी सांसद सहमत भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसअघि ३५ दिनसम्म रकम अभावले अमेरिकी संघीय निकायहरू बन्द भएका थिए । अमेरिकी इतिहासकै सबैभन्दा लामो खर्चबन्दीका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान छ ।
पर्खालका लागि राष्ट्रपति ट्रम्पले ५ अर्ब ७० करोड डलर छुट्याउनुपर्ने माग गर्दै आएका थिए । त्यसको अनुपातमा उक्त रकम निकै कम हो । विनियोजन गरिएको रकमबाट ५५ माइल लामो पर्खाल लगाउन पुग्नेछ ।
उक्त पर्खाल स्टिलको हुने बताइएको छ । ट्रम्पले भने कंक्रिटको पर्खाल लगाइने बताउँदै आएका थिए । ह्वाइट हाउसले डिसेम्बरमा २ सय १५ माइल लामो पर्खाल बनाउने बताउँदै आएको थियो । सोमवार छुट्याइएको रकमबाट टेक्ससको रियो ग्रान्ड उपत्यकामा पर्खाल बनाइनेछ।
रिपब्लिकन सिनेटनर रिचर्ड शेल्बीले सबै मतभेदहरू हल भइ सैद्धान्तिक सहमति भएको बताएका छन् । सहमतिका बुँदाहरू भने सार्वजनिक गरिएको छैन । यसै साताको शुक्रवारसम्म सरकारी सहमति नजुटे संघीय कार्यालय बन्द हुने खतरा रहेको थियो ।



लाेकपाटी न्यूज

