रेडियो दिवस मनाईंदै

radio 01
लाेकपाटी न्यूज

काठमाडौं, १ फागुन । आज विभिन्न कार्यक्रम गरी ८ औं विश्व रेडियो दिवस विश्वभर मनाईंदैछ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ का दिन विश्व रेडियो दिवस मनाउने गरिएको छ ।

नेपालमा वि.सं. २००३ सालमा काठमाडौंमा रेडियो प्रशारण सुरु भए पनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा रेडियो प्रशारण सुरु भएको थियो । एफएमको प्रसारण भने २०५२ सालदेखि सुरु भएकोमा अहिले ६ सय भन्दा बढी रेडियो सञ्चालनमा छन् ।

विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यमका रुपमा रेडियोलाई विकास, प्रभाव र प्रगतिको क्षेत्रमा यसले पुर्याएको योगदानलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउने गरिएको हो । सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गए पनि रेडियोले आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नु परेको छ । रेडियो दिवसको अवसरमा रेडियोका छाता संगठनहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् ।

 यो वर्षकाे विश्व रेडियो दिवसमा ‘संवाद, सहनशिल र शान्ति’ लाई जोड दिइएको छ । दिवसका अवसरमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेट्सले रेडियोले संवादका माध्यमबाट धैर्यताका साथ शान्तिको लक्ष्य प्राप्त गर्न र सर्वसाधारणका आवश्यकता परिपूर्तिमा सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्