काठमाडौं, १ फागुन । सरकारले आज अर्थात फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दैछ ।
बेरोजगारलाई रोजगारीको ग्यारेन्टी, नसके निर्वाह भत्ता दिने व्यवस्थासहितको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गर्ने भएको हो । आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आज भव्य कार्यक्रम गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यक्रम घोषणा गर्दैछ ।
सरकारले पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भए पनि रोजगारीको थप अवसर सिर्जना गर्ने तयारी गरेको छ ।
मन्त्रालयका अनुसार आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहीत गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीका क्षेत्र र दायरालाई विकास एवं विस्तार, श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्दै राष्ट्रिय समृद्धिमा योगदान गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
रोजगार कार्यक्रम सञ्चालन भएसँगै न्यून आयआर्जनका लागि पनि जोखिमपूर्ण काममा विदेश जानुपर्ने बाध्यता हट्ने विश्वास सरकारले लिएको छ ।



लाेकपाटी न्यूज

