‘शिक्षालाई प्रविधिसँग जोडौं’ : रेनु दाहाल

Renu Dahal
लाेकपाटी न्यूज

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको शिक्षा व्यवहारिक र प्राविधक हुनुपर्ने बताएकी छिन् ।

बालकुमारी कन्या मावि नारायणगढको ५७ औं वार्षिकोत्सव समारोहमा महानगर प्रमुख दाहालले अब भरतपुर महानगरका विद्यालयहरुले क्रमशः व्यावहारिक र प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताइन् । कार्यक्रममा उनले भनिन्, ‘अब विद्यालयहरु गुणस्तर वृद्धिमा लाग्नुपर्छ, शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्छ ।’

कार्यक्रममा महानगर प्रमुख दाहालले सामुदायिक विद्यालयहरुको अवस्था खस्किरहेको हुनाले यसलाई सुधार गर्न लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘महानगरले नगर शिक्षा ऐन पारित गरेर कार्यान्वयन चरणमा लगेको छ, गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकहरुको बैठक गरिरहेका छौँ ।’

कार्यक्रममा उनले राज्यको ठूलो लगानी शिक्षामा भइरहेको बताइन् । दाहालले थपिन्, ‘विद्यालय भौतिक रुपमा सम्पन्न छ, विद्यालयको आम्दानी धेरै छ । तर, पनि गुणस्तर बढ्न सकेको छैन ।’ उनले विद्यालयको गुणस्तर बढाउन निर्देशनसमेत दिइन् ।

कार्यक्रममा विद्यालयका प्रअ हेरम्बकुमार श्रेष्ठले प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदीले जिल्लाको शिक्षाको अवस्थाबारे जानकारी गराउँदै शिक्षामा राज्यको लगानी नपुगेको बताए ।

कार्यक्रममा अपुरो भवन निर्माणमा सहयोग गर्ने स्व. सूर्यबहादुर मास्केको परिवारलाई सम्मान गरिएको थियो । स्व. मास्केका परिवारले अब बन्न लागेको अपुरो भवन निर्माण निर्माण गर्ने भएका छन् ।

कार्यक्रममा आदिकवि भानुभक्त माविका प्रअ विष्णुप्रसाद सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष जिएन चौधरीलगायतले मन्तव्य दिएका थिए । २०१८ सालमा स्थापना भएको यस विद्यालय २०७४ को एसइईमा १४ औं स्थानमा थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्