फेरि नयाँ शिखर चढ्छौं : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिलो पटक सरकारमा गएर कुनै चमत्कार गर्न नसकेको स्वीकार गरेका छन् । उनले भने, ‘पहिलो पटकको प्रधानमन्त्रीकाल मेरो लागि झिलिमिलीमै गयो । झिलिमिली हुँदाहुँदै नौ महिना बित्यो ।’

मङ्गलबार सरल सहयात्रीको ‘शिखरको ढुङ्गा’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पहिले प्रधानमन्त्री बन्दा आकाङ्क्षा धेरै ठूलो भएपनि आकाङ्क्षा र अनुभवको बीचमा अन्तरविरोध भएका कारण आफू असफल भएको बताएका हुन् ।

उनले दोस्रो पटक अवसर पाउँदा त्यो अवसर आफ्ना लागि झिलिमिली नभएको अनुभव सुनाए । उनले त्यो अवसर सचेत योजनाबद्ध राष्ट्र, राष्ट्रिय एकता, परिवर्तनलाई संस्थागत गर्न र देशलाई नयाँ दिशा दिनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने अवधिको रुपमा रहेको उल्लेख गरे । उनले भने, ‘अहिले हामी पार्टी एकतामा आइपुगेका छौं । दुई तिहाई बहुमत कम्युनिष्ट सरकार छ । राजनितीक स्थिरता छ । अब देश एउटा नयाँ अभियान तिर लाग्छ ।’

संविधानको घोषणा र निर्वाचन सम्पन्न गरिसकेपछि एउटा क्रम टुङ्गिएको उनको भनाइ छ । एउटा नयाँ क्रमको शुरुआत भएको बताउँदै उनले यो नयाँ क्रम नयाँ क्रान्तिका रुपमा अगाडि आउने बताए ।

‘समाजवाद तिरको यात्रा एउटा नयाँ यात्रा हो । शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवादको आधार निमार्ण गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने एउटा महायात्रा हो,’ उनले भने, ‘यसमा आर्थिक समृद्धि हाँसिल नगरी समाजवाद सम्भव छैन । त्यसैले अबको दशक समाजवाद निमार्णको दशक हुनेछ । हामी फेरि अर्को शिखर चढ्ने दशक बनाउनेछौं । ’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्