‘डोजर चल्यो, धुलो उड्यो; अब विकास हुन्छ’

Keshab Badal01
लाेकपाटी न्यूज

काठमाडौं, २९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल आधारभूत रुपमा सफल भएको दाबी गरेका छन् ।

मङ्गलबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले भने, ‘अहिले युद्धस्तरमा विकास निर्माणका काम भइरहेको छ । बाटाहरु धमाधम चार लेनबाट ६ लेन, र ६ लेनबाट ८ लेनमा स्तरोन्नति भइरहेका छन् ।’

जनताको घरदैलोमा परिवर्तन नदेखिए विकास निर्माणका कामहरु धमाधम भइरहेको उनको भनाई थियो । उनले भने, ‘म यो बीचमा पुर्व–पश्चिम यात्रामा निक्किएको थिएँ । मैले धुलो उडिरहेको देखेँ । डोजर चलिरहेको देखेँ । अब त बल्ल विकास भयो भन्ने मलाई लागेको छ ।’

सरकारले यो एक वर्षमा धेरै महत्वपूर्ण कामहरु गरिरहेको पनि उनले विश्वास दिलाए । उनले भने, ‘भारतसँग पिटिए भएको छ । यो हाइड्रो क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि हो । थप हवाई रुट दिने सहमति भएको छ ।’

केरुङ–काठमाडौं रेलमार्गको डिपिआर पनि निर्माण भइसकेको उनले जनाए । भारतबाट काठमाडौं रेल आउने, पुर्व–पश्चिम रेलमार्गको पनि काम भइरहेको लगायत विकास निर्माणका फेहरिस्त उनले सनाए ।

नेता बडालले यो एक वर्षमा सरकारले विकासको जग हालेको पनि दाबी गरे । यद्धपी उनले सरकारले केही काम नै गरेन र अर्थतन्त्र नै डामाडोल भयो भनेर लगाइएको आरोपमा भने कुनै सत्यता नभएको भन्दै खण्डन गरे । सरकार अझै प्रभावकारी र अझै सशक्त रुपमा प्रस्तुत हुनुपर्छ भन्ने जनताको चाहनालाई आफूहरुले स्वभाविक रुपमा लिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्