काठमाडौं, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले सरकार र प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् । उनले भने, ‘यो एक वर्षमा सरकार पनि असफल र प्रमूख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो । दुवै असफल भए । उनीहरुले अवसरको सदुपयोग गर्न सकेनन् ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने, ‘सरकार र कांग्रेस दुवै असफल भए । अब हाम्रो पालो आयो ।’ उनले दुवै असफल भएकोले मुलुकमा राजतन्त्र फर्किन सक्ने सनसनीपूर्ण घोषणा गरे ।
साक्षात्कारमा बोल्दै उनले यस्तै भए नेपालमा राजतन्त्रपनि फर्किन सक्ने दाबी गरे । उनले भने, ‘राजतन्त्र फर्किन सक्छ । ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलोपटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।’
राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए । उनले भने, ‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो । यो एक वर्षमा सरकारले के–के राम्रो काम गर्यो त भनेर पाना–पाना पल्टाईपल्टाई हेर्यौं भने मौका खेर फालेको पाइन्छ । सरकारले यो एक वर्षमा हासिल गरेका उपलब्धि शुन्य छ ।’



लाेकपाटी न्यूज

