गोरखा, २९ माघ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले देश बनाउनका लागि जनता पनि नयाँ बन्नुपर्ने बताएका छन् ।
नयाँ शक्ति पार्टी, नेपालद्वारा मध्यपहाडी पुष्पलाल लोकमार्गमा आयोजित जनसंवाद यात्रा २०७५ अन्तर्गत मङ्गलबार गोरखाको आरुघाटमा आयोजित अन्तर्क्रियामा बोल्दै डा. भट्टराईले भने, ‘हामी जनता पनि नयाँ नबनिकन देश बन्दैन । पुरानो सोच सबैले त्याग्नुपर्छ ।’ पार्टीका नेताहरुले गडबडी गर्दा नेता कार्यकर्ताले उनीहरुलाई निरन्तर खबरदारी गर्नुपर्नेमा उनको जोड थियो ।
अन्तरक्रियामा बोल्दै उहाँले बूढीगण्डकी कमिशनखोरहरुको चक्करमा परेको बताए । उनले भने, ‘बुढीगण्डकी नेपालीले बनाउनुपर्छ, समयमै बनाउनुपर्छ । भिजन नभएका नेताहरु भ्यू टावर बनाएर बूढीगण्डकीलाई पछाडि धकेलिरहेका छन् ।’
‘मान्छे भनेको आधा पापी वा पाशविक गुण र आधा सन्त अथवा मानवीय गुण रहेको प्राणी हो । क्रान्तिको रापताप सेलाएपछि सत्तामा पुगेपछि पाशविक प्रवृत्ति बढ्दो रहेछ,’ उनले थपे, ‘म व्यक्तिलाई दोष दिन्नँ तर पाशविक प्रवृत्ति नरोके जो पनि बिग्रन सक्छ ।’
हिजो त्याग गरेका नेताहरुलाई राज्यलाई दुहुनो गाई बनाएको बताउँदै उनले जनताको सेवा गर्छु भनेर राजनीतिमा छिर्नेहरु रातारात अभिजातवर्गमा रुपान्तरण भएको आरोप लगाए । राज्यलाई योगदान गर्नेभन्दा दोहन गर्नतिर नेताहरु लागेको उनको भनाइ थियो ।
एक फरक प्रसङ्गमा उनले आफूले माओवादी नछाडेको तर माओवादीले आफ्नो काम सकिसकेको बताए । उनले माओवादीलाई एमालेमा मिसाएर प्रचण्डले धोका दिएको उल्लेख गरे ।



लाेकपाटी न्यूज

