काठमाडौं, २८ माघ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएको मकवानपुरको मनहरी–४, ट्वांग्रास्थित बनकरियाको छाप्रोलाई होमस्टेमा रुपान्तरण गरिने भएको छ। मनहरी गाउँपालिकाले यसका लागि तयारी थालेको हो।
‘जनताको घरमा प्रधानमन्त्री’ कार्यक्रमअन्तर्गत् तत्कालीन प्रधानमन्त्री डा. भट्टराई सानो सोमलाल बनकरियाको छाप्रोमा एक रात बसेका थिए। भट्टराई प्रधानमन्त्री हुँदा २०६९ माघ २६ गते तत्कालीन हाँडीखोला गाविसको ट्वांग्रामा रहेको बनकरियाको छाप्रोमा बसेका थिए।
महिनाको एकपटक जनताको घरमा पुगेर बास बस्ने गरेका तत्कालीन प्रधानमन्त्री डा. भट्टराई ग्रामीण क्षेत्र बनकरियाको छाप्रोमा बसेका थिए। त्यसबेला डा. भट्टराईले सोमलाललाई दुई वटा ब्ल्याङ्केट र १० हजार रुपियाँ सहयोग प्रदान गरेका थिए।
सोही घरलाई होमस्टे बनाउने गरी काम सुरु गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा बनकरिया बस्तीमा होमस्टे लगायत काम गर्ने गरी ५ लाख रुपियाँ बिनियोजन गरिएको छ। सोही रकमबाट उक्त छाप्रोलाई होमस्टेमा रुपान्तरण गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने योजना गाउँपालिकाको छ।
होमस्टे निर्माणका लागि माया बनकरिया संयोजक रहने गरी होमस्टे व्यबस्थापन समिति गठन गरिएको छ। उपसंयोजक सन्तमाया बनकरिया रहेको समितिमा सदस्यहरु सुन्तली, कान्छीमाया, सानो सोमलाल र धोबे बनकरिया तथा ४ नम्बर वडा अध्यक्ष ध्रुव खड्का संरक्षक छन्।
आइतबार होमस्टे निर्माण सम्बन्धमा सरोकारवालासँग छलफल गरिएको छ। छलफलमा गाउँपालिका अध्यक्ष उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, वडा अध्यक्ष खड्का, समाजसेवी रामहरि बिष्टलगायत उपस्थित थिए। अल्पसंख्यक समुदायको रुपमा रहेका बनकरियाहरु अझै पनि जंगली कन्दमूल खाएर जीविका चलाउने गर्छन्।
ताजा तरकारी उत्पादनका लागि देशमै ख्याति कमाएको गाउँमा पुगेका डा. भट्टराईले लोपोन्मुख विपन्न परिवारले खाने जंगली कन्दमूल खाएर रात बिताएका थिए। ट्वांग्रा पुगेका डा. भट्टराईले कन्दमूल गिठ्ठा र भ्याकुरका विभिन्न परिकार खाएका थिए।



लाेकपाटी न्यूज

