‘सिराहा पुग्दा छोरी माइत आएजस्तो लाग्छ’

prachanda-5
लाेकपाटी न्यूज

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिराहामा पुग्दा माइती नै आएजस्तो लाग्ने गरेको बताएका छन् । सोमबार सिराहाको महनौरमा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अधक्ष्य प्रचण्डले सिराहामा आउँदा कहीँ अन्त गए जस्तो नलागेर एउटा छोरी माइत आएजस्तो लाग्ने गरेको बताएका हुन् ।

पञ्चायत र जनयुद्धका बेला पनि सिराहामै सक्रिय रहेको भन्दै उनले पटक–पटक त्यहाँ गएको बताए । प्रचण्ड २०७० सालको संविधानसभा निर्वाचनमा सिराहाबाटै निर्वाचित भएका थिए । उनले चुनाव प्रचारका बेला पनि ‘मधेशसँग लभ परेको’ र सिराहा आफूलाई ‘माइतीघर जस्तै’लाग्ने गरेको बताएका थिए ।

प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आफूले मधेशको पक्षमा र संविधान संसोधनका पक्षमा पहल गरेको दाबी गरे ।

त्यस्तै, नागरिकता सम्बन्धी विधेयक संसदमा पेस भएर छलफल चलिरहेको भन्दै प्रचण्डले अब जन्मसिद्ध नागरिकका छोराछोरीको समस्या सदाका निम्ति समाप्त भई नागरिकलाई समस्या नपर्ने बताए ।

त्यस्तै, उनले आफ्नो पार्टी नेतृत्वको सकारले तराई मधेशका निम्ति झन्डै दुई अर्बको बजेट व्यवस्था गरेको भन्दै त्यो चाँडै वितरण हुने बताए ।

प्रचण्डले आजै उद्घाटन गरेको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर लगायतको व्यवस्था गर्ने आश्वासन समेत दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्