काठमाडौं, २७ माघ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिएका छन् ।
आइतबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता डा. खड्काले भने, ‘प्रचण्डजीले भेनेजुएला प्रकरणमा अमेरिकाले हस्तक्षेप गर्यो, साम्राज्यवादी ‘कु’ भन्नुभयो । प्रचण्डले त्यसरी भन्नु आवश्यक थिएन ।’
नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किसकेपछि सरकारले पनि भेनेजुएला प्रकरणमा प्रचण्डकै लाइनमा वक्तव्य जारी गरेको सुनाए । उनले भने, ‘रुसले क्रिमियामा हस्तक्षेप गर्दा उहाँहरु किन बोल्नुभएन ? सिरियामा किन बोल्नुभएन ?’
उनले थपे, ‘सरकारले पनि प्रचण्डकै लाइनमा वक्तव्य जारी गर्यो । नेपाल र अमेरिकाबीच १९४७ देखि कुटनीतिक सम्बन्ध छ, हामीलाई अमेरिकाले असाध्यै ठूलो आर्थिक सहायता गर्दै आएको छ । सरकारको वक्तव्यका कारण अहिले सम्बन्धमा ह्रास आएको छ । नेपाल सरकारले यस्तो वक्तव्य जारी गर्नु आवश्यक थिएन ।’ खड्काले अमेरिकालाई नेपाल सरकारले चिढ्याउने काम गर्नु आवश्यक नै नभएको जिकिर गरे ।
उनले ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएकोले चीन रिसाएको हो कि भनेर त्यो सन्देहलाई मेटाउन प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध यस्तो वक्तव्य दिएको हो कि भन्ने कता–कता आफूलाई लागेको पनि जिकिर गरे ।
खड्काले यही कदमले गर्दा अमेरिका र नेपालबीचको कुटनीतिक सम्बन्धमा असर परि नहाल्ने जिकिर गरे । उनले भने, ‘अहिले नै ठूलो असर परिहाल्दैन । हालै नेपालस्थित अमेरिकी राजदुत र्याण्डी डब्लु बेरीले प्रधानमन्त्री ओली र प्रचण्डजीलाई भेट्नु भएको कुरा आएको छ । त्यसैले सम्बन्ध बिग्रिहाल्दैन ।’
फरक प्रसङ्गमा उनले सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको आरोप लगाए । उनले भने, ‘अहिले मुलुकको अर्थतन्त्र डामाडोल छ । यो ५ महिनामा ५ खर्ब ६९ अर्बको व्यापार घाटा छ । निजी क्षेत्रको पनि त्यस्तै समस्या छ ।’
दुई तिहाईको सरकारले उत्ताउलो कुरा गरिरहेको उनको भनाइ छ । खड्काले भने, ‘जनताका आधारभूत कुराहरु यो सरकारले पूरा गर्न सकेको छैन । सरकारको यो एक वर्षको पफर्मेन्स होपलेस छ ।’



लाेकपाटी न्यूज

