ओली-प्रचण्ड जुधाउने काम नगरौं : योगेश भट्टराई

Yogesh bhattarai
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद् योगेश भट्टराईले ‘भेनेजुएला प्रकरण’लाई देखाएर दुई अध्यक्षलाई जुधाउन खोजिएको बताएका छन् ।

नेता भट्टराईले भेनेजुएला प्रकरणको विषयमा पार्टी दुई चिरामा विभाजन नभएको बताउँदै भने, ‘यस विषयमा पार्टी दुई चिरामा विभाजन छैन । पार्टी र नेता पनि एक नै हुनुहुन्छ । यसमा दुइटा अध्यक्षलाई जुधाउन खोजिएको छ । उनले थपे, ‘दुई वटा अध्यक्षको स्प्रिट, भावना आ-आफ्नो ठाउँमा सही छ । एक जना अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, उहाँले सरकारको आँखाबाट भेनेजुएलाको मुद्दा हेर्नुभएको छ र सरकारले दिनुपर्ने प्रतिक्रिया उहाँले दिनुभएको छ ।

उनले प्रचण्डले दिएको वक्तव्यलाई पार्टीको आँखाबाट हेरेको र पार्टीको स्थापित मान्यताको आधारमा दिएको बताए । उनले भने, ‘दुवै वक्तव्य सारमा एउटै हो । त्यसमा त्यसको रंग उतार्ने काम र चियाको कपमा तुफान निकाल्ने यी दुवै कुरा गलत छन् ।’

नेता भट्टराईले भेनेजुएला प्रकरणमा पार्टीको नेतृत्वलाई जुधाउने कुरासँग आफू सहमत नभएको उल्लेख गरे । उनले यस्ता अन्तर्राष्ट्रिय मुद्दामा सिंगो मुलुक नै एक हुनुपर्ने ठाउँमा पार्टी नेतृत्वलाई जुधाएर त्यसबाट आनन्द महसुस गर्ने, रमाइलो महसुस गर्ने काम त्यो आफूलाई ठीक नलाग्ने बताए ।

उनले वक्तव्यमा कोही पनि नचिप्लिएको र कोही पनि नलडेको बताए । ‘केपी ओली र प्रचण्ड कमरेड दुवै आआफ्नो ठाउँमा ठीक हुनुहुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्