काठमाडौं, २७ माघ । भेनेजुयला प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सम्बन्ध चिसिएको प्रचार भइरहेका बेला दुई अध्यक्ष भने पार्टी एकताको काम टुंगाउन सघन छलफलमा जुटेका छन् । शनिबार २ अध्यक्षले पार्टी एकता र राजनीतिक परिस्थितिबारे लामो छलफल गरेका हुन् ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच गत बिहीबार पनि पार्टी एकीकरणमा भइरहेको ढिलाइ र एकीकरण कार्यदलका काममा केन्द्रित रहेर छलफल भएको थियो । स्थायी कमिटीले गठन गरेको कार्यदलले समेत सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि दुई अध्यक्षबीच नियमित छलफल भइरहेको र सोही क्रममा शनिबार पनि छलफल भएको हो ।
‘दुई अध्यक्षबीच शनिबार छलफल भएको हो, उहाँहरू नियमित संवाद र छलफलमै हुनुहुन्छ, तर बाहिर जे चर्चा भए पनि कुनै पनि विषयमा असमझारी छैन,’ स्रोतले भन्यो, ‘पार्टीका धारणाहरू पनि आधिकारिक रूपमा सार्वजनिक भइरहेकै छ ।’
शनिबारको भेटपछि दुवै अध्यक्षले अएकताको बाँकी काम, बुझाइमा रहेको फरकपनलाई मत्थर बनाउने समझदारी गरेको स्रोतको भनाइ छ । पछिल्लो समय दुवै अध्यक्ष एकतामा देखिएको ढिलाइप्रति चिन्तित छन् ।
प्रचण्डले बढीमा फागुन पहिलो साताभित्र एकताको टुंगो लगाउने घोषणा गरेका छन् । सोही आधारमा पनि एकताको काम सकाउन ओली प्रचण्डबीच छलफल भएको हो । छलफलमा पार्टी र सरकारका कामको समीक्षासमेत हुन थालेको छ ।
भेनेजुयलाको राजनीतिक सङ्कटका विषयमा नेकपामा २ धार रहेको र त्यसले पार्टी एकता नै जोखिममा पर्नसक्ने प्रचार भइरहेका बेला २ अध्यक्ष भने पार्टी एकता तत्काल टुंगो लगाउन सक्रिय भएका हुन् । पार्टीमा खासै ठूलो मतभेद नभए पनि पछिल्लो समय नेकपाभित्र अन्तरसंघर्ष रहेको अड्कलबाजी गरिएको थियो ।



लाेकपाटी न्यूज

