चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यवस्थित र सुविधासम्पन्न वडा कार्यालय सुशासनको आधार भएको बताएकी छिन् । भरतपुर महानगरपालिका वडा नम्बर २८ को वडा कार्यालय भवन शिलान्यास गर्दै दाहालले सुशासन विकासको आधार भएको बताइन् ।
मेयर दाहालले भरतपुर महानगरपालिका प्रभावकारी सेवा प्रवाह गर्दै अगाडि बढिरहेको बताइन् । सुशासनको आधार भनेको ब्यवस्थित र सुविधासम्पन्न कार्यालय भएको बताउँदै उनले महानगरपालिकाले अभियानको रूपमा वडा कार्यालयहरू निर्माण गरिरहेको जानकारी दिइन् । उनले निर्माणाधीन वडा कार्यालय गुणस्तरीय ढंगले समयमै सम्पन्न गर्न निर्माण ब्यवसायीलाई आग्रह गर्दै त्यसको रेखदेख र अनुगमन गर्न वडा समिति र प्राविधिकहरूलाई निर्देशन दिइन् ।
महानगर प्रमुख दाहालले चनौली गौलाघाट सडक आगामी आर्थिक वर्षको बजेटबाट काम सुरू गर्ने गरी काम अगाडि बढिरहेको बताइन् । पश्चिम चितवनलाई पर्यटकीय हबको रूपमा विकास गर्ने योजनाका साथ अगाडि बढिरहेको भन्दै उनले सबैलाई रचनात्मक साथ र सहयोग गर्न आग्रह गरिन् । सुशासन कायम गर्दै शिक्षा, स्वास्थ्य, पिउनेपानी, कृषि र पर्यटनको समुचित विकास गर्दै समृद्धिको यात्रा तय गर्न सकिने उनको भनाइ थियो ।
मेघौली क्षेत्रको नदी कटान र जंगली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न महानगरपालिका कृयाशील रहेको उनले बताइन् । भरतपुरले ठूला पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको बताउँदै उनले सिटी हल, रिङरोड, लिंकरोड, सडकहरूको स्तरवृद्धि र कालोपत्रे, नारायणी र राप्ती नदीको तटबन्धनसहित रिङरोडको डिपीआर भइरहेको बताइन् ।
दाहालले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सुरु भइसकेको जानकारी दिँदै धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने क्रिकेट रंगशालाका लागि आवश्यक सहयोग र सहकार्य भरतपुर महानगरको रहने बताइन् । उनले अढाई वर्षभित्र क्रिकेट रंगशाला निर्माणको काम सम्पन्न गर्न सबैको साथ र सहयोग अनिवार्य हुने बताइन् ।
दाहालद्वारा शनिबार शिलान्यास गरिएको दुई हजार स्क्वायर फुटको वडा कार्यालय भवन आठकोठे हुनेछ । ५० लाख रुपैयाँको लागतमा आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्ने महानगरपालिकाले लक्ष्य लिएको छ। कार्यक्रममा वडाध्यक्ष आशबहादुर कुमालले वडा कार्यालय तोकिएकै समयभित्र सम्पन्न हुने बताए ।



लाेकपाटी न्यूज

