काभ्रे, २६ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब आर्थिक समृद्धि र विकासको यात्राले बिश्राम नलिने बताएका छन् ।
शनिबार बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क) मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी पे्रस) राखिने र विकास एवं समृद्धिले गति लिने बताएका हुन् ।
बनेपा नगरपालिका–६ बूडोलमा आज शहीद सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने, “आइटी पार्कमा आउँदो वर्ष सेक्युरिटी प्रेस राखिन्छ, यो राष्ट्रिय गौरवको योजना हो ।” उनले मन्त्रालयअन्तर्गतको उक्त पार्कमा राखिने सेक्युरिटी पे्रसमा पहिलो चरणमा पेपरवेस सेक्युरिट प्रिन्ट गरिने र दोस्रो चरणमा प्रविधि थप गर्दै प्लाष्टिक कार्डवेस प्रिन्टिङ गरिने जानकारी दिए ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी पे्रसको निरन्तर क्षमता अभिवृद्धि गर्दै नोट, राहदानी, हुलाक टिकट, तथा डिजिटल कार्डलगायतका सामग्री छापिने बताए । उनले विकासको काम तीव्रताका साथ अगाडि बढेको बताए ।
‘विकासले गति लिएको छ’ उनले थपे, “तपाईंहरु ढुक्क हुनुहोस्, यो गतिले अब कहिल्यै विश्राम लिने छैन ।” उनले सडक, विद्यालय, विश्वविद्यालय, अस्पताल, सञ्चार प्रविधि लगायतमा देश समृद्ध बनाउने विकासका काममा सरकार दत्तचित्त रहेको बताए ।
मन्त्री बाँस्कोटाले बनेपा नपाको समग्र विकासमा हाललाई रु. ६ करोड दिइएको र केही समयपछि रु. चार करोड थपिदिने बताए । कार्यक्रममा प्रदेश नं ३ का सांसद बसुन्धरा हुमागाईंले शहीद मार्गका लागि प्रदेश सरकारले रु. ५० लाख छुट्याइएको बताए ।
सो अवसरमा बनेपा नगर प्रमुख लक्ष्मीनरसिंह वादे र नगर उपप्रमूख रेखा दाहालले विकासका हरेक योजनामा गुणस्तरलाई ध्यान दिने बताए ।



लाेकपाटी न्यूज

