कसले गर्‍यो ट्रम्पका वरिष्ठ सल्लाहकारमाथि हातपात ?

kelyan
लाेकपाटी न्यूज

एजेन्सी । ट्रम्पका वरिष्ठ सल्लाहकारमाथि हातपात भएको छ । ट्रम्पकी निकट सहयोगी तथा ह्वाइट हाउसकी सल्लाहकार केल्यान कन्वेले उनलाई आफ्नो छोरीकै सामुन्ने एक महिलाले दुर्व्यवहार गरेको बताएकी हुन्।

वाशिंगटन डिसीको बाहिरी भागमा रहेको एक रेस्टुराँमा गत अक्टोबरमा उक्त घटना भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कन्वेले भनिन्, ‘ती महिलाले मलाई पछाडिबाट समातेर झक्झक्याउँदै बेस्सरी चिच्च्याएकी थिइन्।’
६३ वर्षीय मेरी एलिजाबेथ इनाबिनेटले भने त्यस्तो हमला गरेको अस्वीकार गरेकी छन्। मार्च महिनामा उनी त्यससम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुँदैछिन्।

सीएनएनसँग कुरा गर्दै कन्वेले ती महिला नियन्त्रणभन्दा बाहिर रहेको र अनुहारमा पूरै क्रोध र आतंक देखिएको बताउँदै त्यो व्यवहार वर्णन गर्न नसक्ने बताइन् । उनले आफूले आपतकालीन सेवा प्रदायकहरूलाई फोन गरी प्रहरी आइपुगुञ्जेल ती महिला बेथेस्दामा रहेको सो मेक्सिकन रेस्टुराँबाट हिँडिसकेको बताइन्।

आफ्नी किशोरी छोरीले उक्त घटनाको केही अंश मोबाइलमा रेकर्ड समेत गरेको कन्वेको भनाई छ ।
ट्रम्पका अधिकारीहरूमाथि पहिले पनि त्यस्तै घटना भएका थिए । जुन १९ मा होमल्याण्ड सेक्युरिटी मन्त्रीलाई एक रेस्टुराँमा नै केही अभियानकर्मीहरूले हातपात गरे ।

त्यतिखेर मेक्सिकोसँगको सिमानामा आप्रवासीका केही बालबालिकालाई अभिभावकसँग छुट्ट्याइदिएको घटना उल्लेख गर्दै अभियानकर्मीहरूले उनलाई ती बालबालिकाको रोदन सुन्न सक्छौ भन्दै कराएका थिए ।