काठमाडौं, २३ माघ । नक्कली कागजात पेस गरी लिएका ३ सय ३९ जना बिदेशी नागरिकको नेपाली नागरिकता रद्द भएका छन् । सरकारले ०५४ देखि ०७३ को अवधिमा लिइएका यस्ता नागरिकता रद्द गरेको हो ।
नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नागरिकता रद्द गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । रद्द गरिएका अधिकांश नागरिकता भारतीय नागरिकका रहेका छन ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मात्रै नागरिकता रद्द गर्न पाइने नेपाल नागरिकता ऐन, २०६३ मा उल्लेख छ ।
नागरिकतावाहकविरुद्ध नेपाल सरकारको आधिकारिक निकायमा उजुरी परेपछि छानबिनपछि गृह हुँदै उक्त उजुरी आवश्यक कारबाहीका लागि मन्त्रिपरिषद् बैठकमा पेस हुन्छ र मन्त्रिपरिषद्को बैठकले आवश्यक ठाने उक्त नागरिकता रद्द गर्न सकिन्छ ।
प्रवक्ता सुवेदीले गृहको काम नागरिकता रद्द गर्ने नभएर परेको उजुरीलाई मन्त्रिपरिषद् बैठकमा पेस मात्रै रहेको बताए । उनका अनुसार अहिले जति पनि नागरिकता रद्द गरिएका छन् ति सबै मन्त्रिपरिषद् बैठकबाटै भएका हुन ।
नागरिकता रद्द गर्न गृहमा अहिले ३० भन्दा धेरै उजुरी परेको प्रवक्ता सुवेदीले जानकारी दिए । उनले भने,‘यी जाली कागजात पेस गरी नागरिकता लिएको भन्दै उजुरी परेका हुन् ।
गृह मन्त्रालयका अनुसार अधिकांश उजुरी सीमा क्षेत्र जोडिएका जिल्लाबाट आएका छन् । त्यसमध्ये पनि धेरै उजुरी जन्मका आधारमा नागरिकता लिएकाहरूविरुद्ध छन् ।
जन्मका आधारमा मात्रै नेपाल सरकारले एक लाख ९० हजार सात सय २६ नागरिकता वितरण गरेको थियो । पहिलो संविधानसभा चुनावअघि वितरण गरिएको उक्त नागरिकता लिने अधिकांश तराई जिल्लाकै बासिन्दा रहेको गृहले जनाएको छ ।



लाेकपाटी न्यूज

