गृहमन्त्री थापाले आज संसद्मा जवाफ दिने

Ram Bahadur Thapa
लाेकपाटी न्यूज

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबारको संसद् बैठकमा विभिन्न प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।

आज दिउँसो एक बजे बस्ने बैठकमा गृहमन्त्री थापासँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा गृहमन्त्री थापासँग चार जनाले प्रश्न दर्ता गराएका छन् । संसद् सचिवालयमा कांग्रेसका तीन र नेकपाका एक सांसदलेले प्रश्न दर्ता गराएका छन् ।

सचिवालयका अनुसार कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तको हत्यारा पक्राउ नपरेको भन्दै प्रश्न दर्ता गराएकी हुन् । आजको बैठकमा गृहमन्त्री थापाले यस विषयमा जवाफ दिनुपर्ने छ ।

त्यस्तै कांग्रेसकै अर्का सांसद् देवेन्द्रराज कँडेलले पनि अपराधकै सेरोफेरोमा प्रश्न राखेका छन् । उनले भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको दुई अपहरणकारीलाई प्रहरीले इन्काउन्टर गरेकोबारे प्रश्न राखेका हुन् ।

कांग्रेसका सांसद रामबहादुर विष्टले पनि गृहमन्त्री थापासँग नमराज विष्टको हत्यारा पत्ता नलाग्नुको कारण माग्दैछन् ।

उता नेकपाकै सांसद घनश्याम खतिवडाले लेटाङमा पानीमा विषादी मिसाउनेलाई कारवाहीको प्रक्रिया कहाँ पुग्यो भनी गृहमन्त्री थापासँग जवाफ माग्नेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्