कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

लाेकपाटी न्यूज

काठमाडाैं, २३ माघ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

बैठक बुधबार केन्द्रीय पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्न बस्ने भएको हो । बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।

महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो ।

यस्तै कांगे्रसको भातृ संस्था नेविसङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । यसबाहेक सरकारका कामकारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्