काठमाण्डौं। नेपालका लागी अमेरिकी राजदूत र्याण्डी बेरी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबीच भेट भएको छ । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आएका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शिक्षाको जग बसाल्न प्राथमिक शिक्षामा विषेश सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । आफूसँग शिक्षा क्षेत्रको धेरैं अनुभव भएको र शिक्षा क्षेत्रकै व्यक्ति भएको परिचय दिँदै राजदूत बेरीले दुईपटक शिक्षामन्त्री पोखरेलसँग अनुभव साट्न र समग्र शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्न भेट्न चाहेको बताए ।
उनले नेपालका विद्यालयहरुमा अग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयमसेवकहरुलाई भिषाको प्रक्रिया सहज बनाई दिन पनि अनुरोध गरे । साथैं राजदूत बेरीले १९६२ मा स्थापना भएको लिङ्कन स्कुलमा अग्रेजी भाषा पढ्न चाहने विद्यार्थीहरुलाई सहज वातावरण मिलाई दिन पनि नेपाल सरकार समक्ष अनुरोध गरेका थिए ।
भेटमा मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएकोमा अमेरिकी सरकारलाई विषेश धन्यवाद ज्ञापन व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा पनि गरिएको बताए । विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले १० लाख बालबालिका लाभान्वित भएको स्मरण गर्दै मन्त्री पाखरेलले यस्ता कार्यक्रमको सकारात्मक नतिजालाई हेरेर नेपाल सरकारले क्रमैसँग सबै जिल्लामा विस्तार गर्ने नीति शुरु गरिसकेको जानकारी दिए ।
मन्त्री पोखरेलले भने – नेपालका विद्यार्थीहरुले फूलब्राइट छात्रवृत्तिमार्फत अमेरिकामा उच्च शिक्षाका अवसर प्राप्त गरेको विषय, नेपालका विद्यालयहरुमा अंग्रजी भाषाको प्रबर्द्धनका लागि पिसक्रप्स भोलेन्टियरमार्फत पुर्याइएको योगदानका साथै भूकम्पपछिको विद्यालय पूननिर्माणमा प्राप्त अमेरिकी सहयोगको उच्च मूल्याङ्कन गर्न चाहन्छु ।
युवा जनशक्तिलाई श्रमप्रति उन्मूख गर्दै श्रमलाई सीपसँग, सीपलाई आय आर्जनसँग र आयआर्जनलाई सम्बृद्धिसँग जोड्ने अभियानमा नेपाल सरकार रहेको बताउँदैं मन्त्री पोखरेलले प्राविधिक शिक्षामा जोड दिने कार्यक्रममा सहकार्यको अपेक्षा राखिएको बताए ।



लाेकपाटी न्यूज

