काठमाडौं, २१ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी छन् । बिहान करिब १०ः३० बजेतिर चाबहिलमा रहेको मालपोल कार्यालय पुगेको मन्त्री अर्यालसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिहरुको अनुगमन गरेको थियो ।
सिभिल पोशाकमा गएको मन्त्रीको टोलीले कार्यालय प्रवेश गरेर सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसँग बसेर त्यहाँको गतिविधिको अनुुगमन गरेको थियो । सचिव गोपीनाथ मैनालीसहित अनुगमनमा गएकी मन्त्री अर्यालले सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा जानकारी समेत लिएकी थिइन् । त्यसक्रममा कार्यालयमा मन्त्री अर्याल अनुगमनमा आएको खबर पाएपछि लेखापढी व्यवसायीहरुले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको भन्दै अनेक गुनासा राखेका थिए ।
विशेषगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले पछिल्लो समय प्रयोगमा ल्याएको सेवाग्राही आफैंले भर्नसक्ने फारामका कारण आफ्नो व्यवसाय समस्यामा परेकोप्रति उनीहरुको गुनासो लक्षित थियो ।
अनुगमनका क्रममा कर्मचारीले अनलाइन सिस्टमले काम गर्न सहज भएपनि बेलाबेला सर्भर डाउन हुदा काम गर्न समस्या उत्पन्न भएको बताएका थिए । कर्मचारीहरुले विशेषतः अनलाइन सिस्टममा काम गर्नका निम्ती एक पटक लिएको लिएको तालिम पर्याप्त नभएको र थप तालिमको आवश्यकता रहेको बताएका थिए ।
अनुगमन पश्चात् मन्त्री अर्यालले सेवाग्राहीलाई कसरी खुशी बनाउन सकिन्छ भन्ने मन्त्रालयको मूल लक्ष्य भएको भन्दै त्यसका निम्ती विभिन्न कार्यालयहरुको निरन्तर अनुगमन गर्नेक्रम थालिएको बताइन् । व्यवहारमा देखिएका समस्याका कुरा स्कुलिङबाट सुधार गर्ने र सेवासँग जोडिएका संरचनागत कुरालाई संरचना सुधारका अभियान सञ्चालन गरिने मन्त्री अर्यालले बताइन् ।
अनुगमनको क्रममा कामको प्रकृतिअनुसार कार्यालय उपयुक्त नभएकाले कार्यालय अर्को ठाउँमा सार्ने विकल्प खोज्न मन्त्री अर्यालले कार्यालय प्रमुखलाई निर्देशन दिएकी छन् । सेवाग्राहीलाई पनि सास्ती छ कर्मचारीलाई पनि आफ्नो काम सम्पादन गर्न समस्या भएकोले भवन निर्माण सम्पन्न हुन ढिला हुनेभएपनि अर्को भवनको विकल्प खोज्न मन्त्री अर्यालले निर्देशन दिएकी हुन् ।
सेवालाई प्रभावकारी बनाउने कार्यको थालनी मन्त्रालयले गरेको भन्दै मन्त्री अर्यालले कार्यालयलाई प्रविधिमा ढाल्ने कार्यको शुरुवात गरिएको बताइन् । ‘अनलाइन शुरु गरेपछि सर्भरका कारणले सेवामा समस्या आयो सेवा दिन सकिएन भन्ने कुरा आएको छ । थप तालिमको आवश्यकता रहेको देखियो,’ मन्त्री अर्यालले भनिन्, ‘सर्भरसँग जोडिएर आउने समस्याको समाधानका निम्ती मन्त्रालयले थप तालिम दिने आवश्यकता देखियो ।’
सेवासँगै जोडिएर अहिले उठेको सुशासनमाथिको प्रश्नको कुरालाई निरुपण गर्न सेवामा प्रविधिको प्रयोग लगाउन खोजेका उनको भनाइ थियो । उनले भनिन्, ‘कार्यालयमा देखिएका कमिकमजोरी के छन, मन्त्रालयका तर्फबाट सुधार गर्नुपर्ने विषयहरु के छन् र कर्मचारी र सेवाग्राहीहरुबीचको सम्बन्ध कस्तो छ भनेर व्यवहारका विषयहरु समेत अध्ययन गर्ने कार्यको थालनी गरेका छौं ।’
भविष्यमा मन्त्रालय अन्तर्गतका सम्पूूर्ण सेवा पेपरलेश हुनुपर्छ भन्ने उद्देश्यका साथ मन्त्रालयले कार्य अगाडि बढाएको मन्त्री अर्यालले बताइन् । ‘हाम्रा कार्यालयको सेवामा प्रविधिको प्रयोग गर्ने भनेर डिजिटल सिस्टम अगाडी बढाएका छौं । अनलाइनका कामहरु अगाडि बढाएका छौं । यसलाई बिस्तारै गर्दै गएर यसकोल गुुणस्तरलाई वृद्धि गरेर हाम्रा सेवालाई आइटीमै लैजाने हो,’ उनले भनिन्, ‘त्यसलाई परिपुर्ती गर्नका निम्ती हाम्रा सेवाग्राही के भन्नुहुुन्छ । हाम्रा कर्मचारी के हुनुहुन्छ, हाम्रा संरचना कस्तो छ भनेर अध्ययन गरिरहेका छौं । त्यही शिलशिलामा हामी अगाडि बढेका छौं ।’
त्यस अवसरमा मालपोल कार्यालय चाबहिलका कार्यालय प्रमुख पदमप्रसाद अर्यालले अहिले भाडामा रहेको कार्यालयको संरचना सेवामैत्री नहुँदा सेवाप्रवाहमा समस्या भएको बताएका थिए । उनले नयाँ बन्दै गरेको कार्यालयको भवन निर्माण सम्पन्न हुन नसकेको गुनासो गरेका थिए । ठेकेदारले समयमा भवन निर्माण सम्पन्न गर्न नसकेको कार्यालय प्रमुख अर्यालले बताए ।



लाेकपाटी न्यूज

