लोकपाटी टिप्पणी/काठमाडौं, २१ माघ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई यतिबेला देश दौडाहामा छन् । उनले विभिन्न जिल्लामा पुगेर जनतासँग प्रत्यक्ष सम्वाद गर्न थालेका हुन् ।
नयाँ शक्तिले सञ्चालन गरेको अभियानलाई ‘जनसम्वाद यात्रा’ नाम दिइएको छ । सरकारको रबैया र गलत क्रियाकलापको भण्डाफोर गर्ने भन्दै गत माघ १५ गतेदेखि यात्रामा निस्किएका भट्टराईको यात्रा फागुन १५ गते बैतडी पुगेर सम्पन्न हुनेछ । मध्यपहाडी पुष्पलाल लोकमार्ग चिवाभन्ज्याङ पाँचथरदेखि झुलाघाट बैतडीसम्मको एक महिने यात्रा तय गरिएको छ । ३० दिने नेपाल यात्रा नाम दिइएको जनसम्वाद यात्रामा सहभागी हुन नयाँ शक्ति नेपालले आब्हान गरेको छ ।
जनसम्वादमा निस्किएको नयाँ शक्तिले ‘अब त आँखा खोलौं’ भन्ने नारालाई प्राथमिकताका साथ उठाएको छ । अभियानमा डा. भट्टराईका साथ नेतृ हिसिला यमी, नेताहरु देवेन्द्र पराजुली, गंगानारायण श्रेष्ठ लगायत छन् । जिल्लाका नेताहरु सम्बन्धित जिल्लाको अभियानमा जोडिएका छन् ।
राजनीतिमा असल संस्कार जरुरी रहेका नेता भट्टराईले जनाएका छन् । उनले जनसम्वादका क्रममा भन्ने गरेका छन्, ‘हामीकहाँ एकले अर्कालाई हिलो छ्याप्ने अत्यन्तै गलत संस्कृतिको विकास भइरहेको छ । यो राम्रो कुरा होइन । राजनीतिमा नयाँ पुस्ता आउनुपर्छ । तर, ठूला दलका गतिविधिले युवा पुस्ता राजनीतिबाट अलग हुन खोज्दैछ, यो दुर्भाग्य हो ।’
अभियानमा डा. भट्टराई लगायतको टोलीले आफ्ना राजनीतिक एजेण्डासमेत प्रस्तुत गरेको छ । शान्ति, समृद्धि र सहकार्यको राजनीतिलाई प्रमूखताका साथ उठाएको नयाँ शक्तिले समृद्धिका लागि सुशासन जरुरी भएको र त्यो वर्तमान सरकारबाट सम्भव नभएको निष्कर्ष निकालेको छ । अभियानका क्रममा जनतालाई आफ्ना एजेण्डा बुझाउने र जनताका सुझाव लिने गरिएको एक नेताले बताए ।

अभियानमा बाबुरामको टोली होटलमा बस्ने छैन । उनी जनताकै घरमा बस्नेछन्, खानेछन् । दुर्गम बस्तीहरुमा उनी पैदल यात्रा गरिरहेका छन् । ‘राजनीतिमा आदर्श हुन्छ, निष्ठा हुन्छ, त्यो प्रमाणित गर्ने जिम्मेवारी हाम्रै काँधमा आएको छ’ नेताहरुसँग डा. भट्टराईले भन्ने गरेका छन्, ‘सत्य जनताले ढिलो बुझ्छन्, हामी धैर्य भएर अघि बढौं ।’
नयाँ शक्तिको अभियानको मूल्य लक्ष्य जनतालाई आफूतर्फ आकर्षित गर्नु हो । निर्मला पन्तका हत्यारा पत्ता लाग्न नसकेको, डा. गोविन्द केसीका मागलाई सरकारले पेलेर अघि बढेको, सुशासनको प्रत्याभूति हुन नसकेको, वाइडबडी प्रकरणको भ्रष्टाचार सरकारले ढाकछोप गरेको, नागरिकको दैनिक जीवन सहज बन्न नसकेकोजस्ता विषयलाई पनि नयाँ शक्तिले आफ्ना मुद्दाको रुपमा उठाएको छ ।
नयाँ शक्तिको अभियान उत्साहवद्र्धक नदेखिए पनि नागरिकले बाबुरामका कुरा ध्यान दिएर सुन्न थालेको एक नेताले बताए । बैकल्पिक राजनीतिले नै मुलूकको नेतृत्व गर्न त समय लाग्ने देख्छु’ उनले भने, ‘समय लाग्छ भन्दैमा सत्यको वकालत गर्न त छोड्नु भएन नि ?’ जनसम्वाद यात्राले नयाँ शक्तिको आयातनमा के फेरबदल ल्याउला ? त्यो भने प्रतीक्षाकै विषय छ ।



लाेकपाटी न्यूज

