जनजातिले हाँस्न पाए देशमा समृद्धि आउँछ : सांसद गुरुङ

Man-grg
लाेकपाटी न्यूज

पोखरा । गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले राज्यको नेतृत्व आदिवासी जनजातिले गर्न पाए देश विकास तथा समृद्ध हुने बताएका छन् । मुलुकमा धेरै परिवर्तनहरु भए पनि एकतिहाई बढी संख्यामा रहेका इमान्दार आदिवासी जनजातिहरुलाई कहिल्यै भूमिका नदिएको उनले गुनासो गरे ।

उनले जनजातिहरु हाँस्न समेत नपाएको बताए । ‘जनजातिले हाँस्नसमेत पाएका छैनन् । उनीहरुले हाँस्न मात्र पाए भने पनि देशमा समृद्धि आउँछ’ सांसद गुरुङले भने, ‘सबै हाँस्न सके मात्र देश बन्छ, नत्र बन्दैन ।’ नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले २१४६ औं वर्ष आगमनको अवसरमा आइतबार पोखरामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेकपाका नेता समेत रहेका उनले यस्तो बताएका हुन् ।

सभ्यता विकास गरेको आदिभूमिमा तिनै आदिवासीहरु भूमिका बनाइएको उनको दोवी थियो । उनले भने, ‘हामी भूमिपुत्र हौं, तर हामी नै भूमिकाहिन, विभेदको पीडा, पहिचान र अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था छ । यसले मुलुक अघि बढ्न सक्दैन । इमान्दार आदिवासी जनजातिलाई राज्यको बागडोर सम्हाल्ने अवसर दिनुपर्छ ।’

‘जुनसुकै नयाँ राजनीतिक प्रणाली आए पनि जनताले परिवर्तनको महशुस गर्न पाएनन्, विकासको अनुभूति गर्न पाएनन्’ गुरुङले भने, ‘कटौती गरिएको ल्होसार विदा सरकारले सच्चाए पनि पहिचान, अधिकार र तमुवानको आन्दोलनको सम्बोधन भएको छैन । यसलाई जारी राखौं । माग पूरा नहुञ्जेल आदिवासी जनजाति निरन्तर अभियानमा लागि रहनुपर्छ ।’

उनले गण्डकी प्रदेशमा तमु भाषालाई तत्काल सरकारी कामकाजको भाषा बताउनुपर्ने बताए । उनले भने, ‘हामी तमुवानमा छौं, यस प्रदेशमा तमु भाषालाई कामकाजी भाषा बनाउनुपर्छ, त्यसका लागि हामी लागिरहेका छौं, तपाईहरु पनि लाग्नुस् ।’

नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले आदिवासी जनजातिको पहिचान, अधिकार र समानताको अधिकार सुनिश्चितताका लागि सोनाम ल्होसारले सरकारलाई घचघच्याउने विश्वास व्यक्त गरे । नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष पूर्णबहादुर ह्योल्मोले राज्य सञ्चालकलाई ल्होसारले सद्बुद्धि दिने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्