गीतिका भुसाल/नवलपरासी, २० माघ।
सदाको वर्षहरुमा जस्तै यस वर्ष पनि माघे औंशीकै अवसर पारेर नवलपरासीको त्रिवेणीमा मेला लागेको छ । एक हप्तासम्म चल्ने मेलामा औंशीको दिन पारेर नदीमा स्नानपछि सूर्यको आराधना गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ ।
ऐतिहासिक एवं पर्यटकीय क्षेत्र मानिने त्रिवेणीधाम नारायणी, सोन भद्र र पूर्ण भद्र नदीको सङ्गमस्थल पनि हो । मेलामा नेपाल लगायत भारतको बिहार, उत्तर प्रदेश, झारखण्ड, दिल्ली, गुजरात, लगायतका प्रान्तबाट लाखौं श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।
यसको महत्वको बारेमा वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि चर्चा गरेका छन् । त्रिवेणीधाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी बेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटीहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचाहरू रहेका छन् । प्राकृतिक रूपमा सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण रहेको यस ठाउँमा स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरू सम्पन्न गर्ने उपयुक्त स्थानका रूपमा त्रिवेणीधामलाई नै लिने गरिएको पाइन्छ ।
कात्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा यहाँ ठूलठूला मेलाहरु समेत लाग्दछन् । स्वर्गबाट देवता र अप्सराहरूसमेत यहाँ स्नानका लागि आउने गर्दथे भन्ने जनविश्वास समेत रहिआएको छ । नारायणी नदीमा शालिग्राम नदीका रूपमा रहेको कालीगण्डकी मिसिने र शालिग्राम विष्णुको प्रतिरूप मानिने हुँदा त्रिवेणीधाम वैष्णव तीर्थका रूपमा पनि प्रसिद्ध रहेको छ ।
नजिकै वाल्मीकी आश्रम, हरिहरक्षेत्र र देवघाट लगायतका अन्य प्रसिद्ध तीर्थहरू रहेकाले पनि त्रिवेणी धामको महत्व बढेको हो । पूर्व–पश्चिम नवलपरासीको धार्मिक स्थलका रुपमा रहेको त्रिवेणीधाम हाल आएर विनयी त्रिवेणी गाउँपालिका वडा नं.–६ पूर्वी नवलपरासीमा पर्दछ ।



लाेकपाटी न्यूज

