काभ्रे, १९ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्न जरुरी रहेको बताए ।
जी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० को १३ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले अङ्गे्रजी भाषा फरर बोल्दैमा गुणस्तरीय शिक्षा दियौँ भनेर गर्व गर्न नमिल्ने बताए । शैक्षिक क्षेत्रमा सरल र सर्वसाधारणलाई समेट्ने गरी सेवामूलक ढङ्गले लाग्नु पर्ने उनको धारणा छ ।
मन्त्री बाँस्कोटाले नेपालका शैक्षिक संस्थाले अहिलेसम्म पनि युवा वर्गलाई खाडी मुलुक पठाउने शिक्षा दिएको गुनासो गर्दै ज्ञानभूमिको मन्दिरमा निजीकरणका नाममा व्यापार गर्न नमिल्ने बताए । ‘नेपालमा नर्सरीमा भर्ना गर्दा पाँच लाखसम्म लिएको उदाहरण पाइयो, यसलाई शैक्षिक व्यापार नभनेर के भन्ने ?’ उनको प्रश्न थियो ।
शैक्षिक व्यापार बन्द भयो भने मात्रै निजी क्षेत्रसँग मिलेर मुलुकको अशिक्षा समाप्त पार्न सकिने उनको भनाइ छ । अभियानका क्रममा तीन लाख बालबालिकालाई विद्यालय पठाउन सफल भएकामा खुशी व्यक्त गर्दै उनले ग्रामीण भेगमा जाने निजी विद्यालयले स्थानीयस्तरमा आर्थिक विश्लेषण गरी अभिभावकको बहन क्षमता हेरेर मात्रै जान आग्रह गरे ।
मन्त्री बाँस्कोटाले सरकारले निजी विद्यालयमा ताला नलगाउने बताउँदै शिक्षा आयोगको प्रतिवेदनका आधारमा सरकारले आजै निजी विद्यालय बन्द गर्न लाग्यो भन्ने भ्रममा नपर्न समेत आग्रह गरे । उनले भने, ‘निजी विद्यालयमा धेरै बेथिति छन् यसलाई सच्याएर अघि बढ्नुपर्छ ।’ अभिभावक गरीब छन् भनेर निजी विद्यालयले सित्तैमा पढाउन नसक्ने उनको भनाइ थियो ।
सामुदायिक विद्यालयको गुणस्तर बढाउन योजनाबद्ध ढङ्गले लागेको बताउँदै उनले निजी विद्यालयबाट बोर्ड फष्ट भएका विद्यार्थी आइएससीमा फेल पनि हुने गरेको उदाहरण दिँदै घोकन्ते धन्दा व्यावहारिक शिक्षा आजको आवश्यकता रहेको बताए ।



लाेकपाटी न्यूज

