काठमाडौं, १८ माघ । सरकारले चिकित्सा सेवामा हड्ताल गर्नेलाई कारवाहि गर्ने भएको छ । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको काम गर्दै आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि सरकारले यसमा संंलग्न रहेकाहरुको नाम सङ्कलन गर्न थालेको हो ।
नेपाल चिकित्सक संघले शुक्रबार देशैभरका सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । सङ्घले रिले अनशनलगायत विरोधका कार्यक्रमलाई बेवास्ता गरेको भन्दै सरकारलाई दवाव दिन यस्तो कदम चालेको बताएको छ ।
स्वास्थ्य मन्त्रालयका बिशेषज्ञ डा. सुशील प्याकुरेलले स्वास्थ्य जस्तो क्षेत्रमा बिभिन्न बहानामा पटकपटक आन्दोलन हुनु राम्रो नभएको बताए । आन्दोलनरत पक्ष र सरकार दुवै उत्तरदायी बन्न नसक्दा यस्तो अवस्था आएको उनकाे भनाइ छ ।
यस्तै स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले मन्त्रालयले सोमबार नै बन्द हड्ताल जस्ता सेवा प्रवाहमा अवरोध हुने क्रियाकलाप नगर्न अपिल गरिएकोमा त्यसको बेवास्ता गरेको भन्दै आज पुनः अर्को अपिल गर्ने बताइन् । सचिव चौधरीले सेवामा नखटिने सरकारी चिकित्सकहरुको लागत सङ्कल गर्ने भइरहेको भन्दै सङकलनपछि कारवाहीको प्रक्रियामा जाने समेत बताइन् ।
यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले चिकित्सकहरुलाई अनसन र हड्ताल नगर्न निर्देशन दिएको थियो । मन्त्रालयले हड्ताल र आन्दोलनका कारण विरामीहरु सेवाबाट बञ्चित हुने भन्दै अनशन हड्ताललगायतका अवाञ्छनीय गतिविधि नगर्न अपिल गरेको थियो ।



लाेकपाटी न्यूज

