फेक फेसबुक आइडीबाट कसरी बच्ने ? (टिप्स्)

Facebook
लाेकपाटी न्यूज

काठमाडौं । विज्ञान तथा प्रविधिका क्षेत्रमा संसार अहिले निकै अगाडि बढिसकेको छ । प्रविधिले हाम्रो कामलाई निकै सहज बनाइदिएको छ । तर, प्रविधिले हामीलाई जति सहजता प्रदान गरेको छ त्यति नै यसका बेफाइदा पनि छन् ।

सोसल नेटवर्किङ साइटका माध्यमबाट हामी आफ्ना परिवारजन, इष्टमित्र, आफन्त एवं साथीभाइसँगको निरन्तर सम्पर्कमा रहन सक्छौं तर यसबारे उचित ज्ञान भएन तथा सावधानी अपनाउन सकेनौं भने यसले हामीलाई ठूलो समस्यामा पारिदिन्छ ।

हिजोआज साइबर क्राइमका घटनाहरु बढिरहेका छन् । इन्टरनेटमा गलत परिचय तथा ठेगाना राखेर फेक आइडी बनाई विभिन्न आपराधिक क्रियाकलाप भइरहेका देखिन्छन् । यस्ता घटना तथा अपराधबारे दिन दिनै हामी पत्रपत्रिका तथा रेडियो टेलिभिजनमा सुन्न पढ्न र हेर्न सक्छौँ ।

हाम्रो समाजमा पनि यस्ता साइट जसको प्रयोग बालबालिकादेखि लिएर बूढाबूढीसम्मले गरिरहेका हुन्छन् । जसमध्ये कतिपयले फेक अकाउन्ट खोलेर अरुका विषयमा गोप्य जानकारी तथा सूचना लिइरहेका हुन्छन् ।

आजभोलि हामी फेसबुक, इंस्टाग्राम जस्ता सोसल मिडीयाका माध्यमबाट भेटेर प्रेम तथा विवाह गरिरहेका समेत हुन्छन् । कतिपयले युवतीहरूको भावनासँग खेलवाड गरिरहेका हुन्छन् भने साथसाथै पैसासमेत मागिरहेका हुन्छन् ।

सामाजिक संजालकै माध्यमबाट गु्रप बनाएर जागिर दिने वा व्यापारमा संलग्न गराउने लोभमा पारेर ठगिरहेका पनि हुनसक्छन् । यस्तो समस्याबाट जोगिन केही कुराको ज्ञान हुनु आवश्यक छ ।

साथी बनाउँदा तथा प्रयोग गर्दा

सामाजिक सञ्जालको प्रयागकर्ताले आफ्नोमा आएको अकाउन्ट फेक हो वा रियल हो छुट्याउन जरुरी हुन्छ । एक पटक फसिसकेपछि आफू त सजक भइन्छ तर साथी तथा आफन्तलाई पनि सजक गराउनु हाम्रो कर्तव्य हुन्छ । कतिपय मानिस एकपटक कुनै अपराध गरिसकेपछि सोसल मिडियाबाट केही समयका लागि गायब भएर पछि पुन: आउँछन् । फेरि अर्कोलाई फसाउँछन् । कतिपय मानिसहरु अज्ञानताका कारणले उनीहरूको जालमा फसिरहेका हुन्छन् ।

यस्ता मानिसहरुले विशेष गरी किशोर–किशोरी तथा युवतीलाई फोकस गरिरहेका हुन्छन् । यदि आफूलाई कुनै अकाउन्ट फेक हो भन्ने लाग्छ भने अरूलाई पनि त्यसको जानकारी गराउनुपर्छ । किनभने त्यसले अपहरणदेखि लिएर बलात्कार र हत्यासम्मका घटना निम्त्याउँछ । यस्ता फेक अकाउन्ट समाजकै लागि हानिकारक हुने गर्दछन् ।

कतिपयले आफ्नो साथी तथा जीवनसाथीको बारेमा सच्चाई बुझ्न फेक अकाउन्ट बनाइरहेका हुन्छन् । यदि तपाई यस्तो गर्दै हुनुहुन्छ भने यो एकदमै नराम्रो बानी हो । यसबाट तपाई आफ्नो साथीप्रति विश्वास गर्नु हुँदैन ।

फेक अकाउन्ट के हो, कसरी पत्ता लगाउने ?

सामाजिक सञ्जालमा कतिपय यस्ता अकाउन्ट हुन्छन् जसको नाम फोटो तथा परिचय लुकाइएको हुन्छ । कतिपयले अर्कैको फोटो राखी फेक अकाउन्ट बनाइरहेका हुन्छन् ।

कतिपय अवस्थामा यस्ता अकाउन्ट शतप्रतिशत रियल जस्तै देखिन्छन् । पोष्ट गरिएका फोटोलगायत स्टाटसहरू नक्कली हुन् भन्ने पत्तो नै पाइँदैन । यहाँसम्म कि आफू र उक्त मान्छेबीच थुप्रै म्युचअल फ्रेन्ड पनि देखिन्छन् । यस्तो अवस्थामा हामीले ती आफ्ना म्युचअल फ्रेन्डसँग जानकारी लिई उसको बारे बुझ्न सकिन्छ ।

जसलाई हामी व्यक्तिगत रुपमा चिन्दैनौँ उसलाई आफ्नो साथीको लिष्ट राख्न हुँदैन । भइहाले पनि यस्ता अज्ञात मानिससँग कुरा गर्न तथा जानकारी सेयर गर्न हुँदैन ।

फ्रेन्ड रिक्वेस्ट पठाउनेहरूको प्रोफाइलमा विस्तृत लिन जरुरी हुन्छ । अर्काको तस्बिर चोरेर आफ्नो प्रोफाइल पिक्चर बनाएको पनि हुन सक्छ यस्तो अवस्थामा गुगलमार्फत उनीहरू साँचो हुन् या होइनन् भनी जाँच्न सकिन्छ ।

अकाउन्ट नक्कली हो भन्ने लाग्यो भने ब्लक वा रिपोर्ट गर्न सकिन्छ । त्यति मात्र होइन आफ्नो अकाउन्टमार्फत उसका सूचनाहरू सेयर गरेर अरूलाई पनि सजग बनाउन सकिन्छ । यसका लागि उसको प्रोफाइल लिंक कपी गरेर आफ्नो वालमा पेस्ट गरिदिन सकिन्छ ।

यसमा हामी हरक्षण सजग एवं सचेत रहनुपर्छ । यसमा अलिकति मात्र गल्ती भयो भने पनि जीवनभर पछुताउनुपर्ने घटना घट्न सक्ने प्रबल सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्