घोषणापत्रमा लेखेको कुरा भुलेका छैनौं, भुल्दैनौं : मन्त्री अर्याल

Padma Aryal-4
लाेकपाटी न्यूज

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले चुनावको बेलामा आफूहरूले जनताको हात–हातमा थमाएको घोषणापत्रलाई नभुलेको बताएकी छिन् ।

बिहीबार स्याङ्जाको गल्याङ नगरपालिकाको जगत्रादेवी साना किसानको छैठौं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्, ‘हामी चुनावको बेलामा तपाईंहरूलाई दिएको घोषणापत्र र हाम्रो प्रतिबद्धता भुलेका छैनौं, चुनावी घोषणापत्रअनुसार नै हामीले काम गरिरहेका छौं । तर, धैर्य रहनुस्, केही समय लाग्छ ।’

अर्यालले कुनै पनि कामको सम्मान नगरेसम्म देश नबन्ने पनि बताइन् । ‘हाम्रा दाजुभाइ विदेशमा गर्ने काम नेपालमै गर्न लाज मान्नुहुन्छ, कामलाई ठूलो सानो ठान्ने हाम्रो प्रवृत्ति छ, जबसम्म कामको सम्मान हुँदैन, तबसम्म देश बन्दैन’ अर्यालले भनिन् ।

मन्त्री अर्यालले सरकारले समृद्धिको आधारका रुपमा सहकारीलाई लिएको भन्दै प्रत्येक घरबाट १ जना सहकारीमा जोडिन र उत्पादनमूलक काममा लाग्न आग्रह समेत गरिन् । ‘सरकारले सहकारीलाई समृद्धिको आधारको रूपमा लिएको छ’ उनले भनिन्, ‘प्रत्येक घरबाट एकजना सहकारीमा जोडिएर उत्पादनमूलक काममा लाग्नुपर्छ । प्रत्येक वडामा सहकारी बनाउने र युवा लक्षित कार्यक्रम ल्याउने तयारी गरेको छु ।’

मन्त्री अर्यालले सहकारीबाट उत्पादन भएका सामानलाई संकलन केन्द्र बनाउने योजनामा आफूहरू रहेको जानकारी पनि गराइन् । ‘सहकारीबाट उत्पादन भएका सामानलाई संकलन केन्द्र बनाउने हाम्रो योजना छ’ उनले भनिन्, ‘सामानको मुल्य सिधै किसानले पाउनुहुन्छ, संकलन केन्द्रको अध्ययन भइरहेको छ । आगामी वर्षसम्ममा लागू गर्ने हाम्रो उद्देश्य छ ।’49900318_790520244641561_7391574897496948736_n

शिक्षा, स्वास्थ्यमा जनताको जीवनस्तर उकास्ने तरिकाले सरकार लागिरहेको अर्यालले बताइन् । ‘जनताको जीवनस्तर उकास्नका लागि यसै वर्षबाट स्याङ्जामा राष्ट्रिय परिचयपत्र दिन्छौं’ अर्यालले घोषणा गरिन् । आगामी बजेटले परिवर्तनका लहरहरू आउने र सरकारले अझै जनताको मन जित्ने उनले बताइन् ।

‘जनताको जीवन बदल्छौं’

स्याङ्जाको वीरेन्द्र माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सबलाई सम्बोधन गर्दै मन्त्री अर्यालले परिवर्तनको अनुभूति हुने गरी काम गर्ने बताइन् । अर्यालले भनिन्, ‘हामी समृद्धिको दिशामा छौं, सरकार जनताको इच्छा आकाक्षा पूरा गर्न अहिले योजनाबद्द तरिकाले लागिरहेको छ, सरकारमा रहनुभएका मन्त्रीहरू प्रतिबद्ध हुनुहुन्छ, म प्रतिबद्ध छु । जनताले देख्नेगरि काम हुन्छ ।’

हामीले शिक्षालाई संविधानमै लेखेका छौं, ‘अर्यालले भनिन्, ‘शिक्षालाई अझै गुणस्तर र जीवनोपयोगी बनाउन सरकारले चरणबद्ध रूपमा कार्यक्रम ल्याउँदैछ । हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुछ, सरकारले आगामि २ वर्षभित्रमा सबैलाई साक्षर बनाउने भनेको छ । त्यसैले शिक्षामा देखिएको अहिलेको विकृतिलाई हामीले अन्त्य र्गर्नुपर्छ ।’

हामीले जमिनको वर्गीकरण गरेर जान्छौं, ‘मन्त्री अर्यालले थपिन्, ‘जमिनलाई राम्रोसँग व्यवस्थापन गर्ने योजनामा सरकार छ । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण जमिनको उचित प्रयोगबाट हुन्छ, रोजगारीको वातावरण बन्छ । व्यक्तिको सम्पत्ति राष्ट्रियकरण गर्ने भनेको होइन, आफूले गर्न नसकेको जग्गा भाडामा दिनु भनेको हो। त्यसबाट व्यक्तिलाई नै फाइदा पुग्ने हो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्