पाल्पा, १८ पुस । पाल्पाको गाउँपालिका कृषि शाखा र पशु शाखा कार्यालय प्रमुखविहीन भएपछि पशु क्षेत्रका कार्यक्रम प्रभावित बनेका छन् ।
गाउँपालिकाको कृषि शाखा प्रमुख रामप्रसाद खनाल १० महिनाका लागि काजमा अध्ययन बिदामा छन् । अहिले कृषि शाखा आठ महिनादेखि कार्यालय प्रमुखविहीन छ । त्यस्तै पशु शाखा डेढ महिनादेखि प्रमुखविहीन छ । कार्यालय प्रमुख तुलसीराम काफ्ले यहाँबाट सरुवा भएर स्याङ्जाको भीरकोट नगरपालिकामा गएपछि उक्त शाखा प्रमुखविहीन भएको हो ।
प्रमुखविहीन हुँदा कृषि तथा पशुका कार्यक्रम अगाडि बढ्न सकेका छैनन् । गाउँपालिकालाई दूध, मासु र आलुमा आत्मनिर्भर बनाउने योजना अलपत्र परेको छ । ‘कर्मचारी अभावमा उद्देश्यअनुसार काम गर्न कठिनाइ भएको छ,’ गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भने, ‘केही समय कृषि ज्ञान केन्द्रका प्राविधिक आउने जाने गर्नुहुन्थ्यो, हिजोआज उहाँ पनि आउनै छाड्नुभयो, स्थानीय तहमा कर्मचारी पदपूर्ति नहुँदा काम गर्न समस्या भएको छ ।’
गाउँपालिकाको वडा नं २ को फोक्सिङकोट र वडा नं ५ को ताहुँमा एक/एक कृषि र पशु स्वास्थ्य प्राविधिक खटिएका छन् । वडा नं ३ पिपलडाँडामा एक कृषि प्राविधिक मात्र कार्यरत छन् । अन्य वडामा प्राविधिक नहुँदा वडाका कृषि र पशुका कार्यक्रमसमेत प्रभावित बनेको छ । गाउँपालिकाले कृषि र पशु क्षेत्रमा १४ प्रतिशत रकम विनियोजन गरेको छ ।



लाेकपाटी न्यूज