काठमाडौं, १७ पुस । नेपालको पर्यटक संख्यामा क्रमश: वृद्धि हुन थालेको छ । सन् २०१८ मा नेपालमा पर्यटक आगमन उत्साहजनक रह्यो ।
यो वर्ष नेपालमा १० लाख ९६ हजार ४ सय ६६ जना पर्यटक भित्रीएको प्रारम्भिक तथ्यांक नेपाल पर्यटन बोर्डको छ । यो संख्या हाल सम्मकै सबैभन्दा बढी हो । सन् २०१८ मा नेपाल भित्रिएको पर्यटकहरुको संख्यालाई ऐतिहासिक मानिएको छ ।
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाएको थियो । त्यसको ७ वर्षपछि यो लक्ष्य पुरा भएको छ । सन् २०१७ मा लगभग साढे ९ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले मुलुकमा निर्माण भएको राजनीतिक स्थीरतासँगै पूर्वाधारहरुको विकास भई सहज परिस्थिति सृजना भएको कारणले पनि पर्यटन आगमनमा वृद्धि भएको बताए ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने तयारी थालेको छ । सो लक्ष्य प्राप्तिका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र सहकार्य गर्दै विभिन्न योजना तथा कार्यक्रम निर्माणमा छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान स्थलहरुको निमार्ण र स्तरोन्नती, पर्यटकीय गन्तव्यहरुको विस्तारसँगै सडक विस्तार गरिरहेको छ । पर्यटन बोर्डले १० हजार जनाभन्दा बढीलाई तालिम र ५ सय भन्दा बढी अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्ने तयारी गरिहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए ।
हाल नेपालको पर्यटन क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको छ भने ४ लाख भन्दा बढीलाई यो क्षेत्रले रोजगारीको अवसर प्रदान गरेको छ । सरकारले राखेको लक्ष्य पूरा भएमा कुल ग्राहस्थमा १० प्रतिशत योग्दान र ८ लाख भन्दा बढीलाई रोजगारीको अवसर सृजना गर्ने विश्वास लिइएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष नवराज दाहाल पनि सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुने बताए । तर सरकारले संख्या मात्र जोड दिनुभन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउन तिर ध्यानदिन आवश्यक रहेको उनको भनाइ छ । पर्यटकहरुको दोहोरो आगमान, गैरआवसीय नेपालीहरुको गणना तथा चीन र भारतबाट व्यवसायिक तथा निजी प्रयोजनका लागि नेपाल आएकाहरुलाई पनि गणना गरी संख्यामा वृद्धि गरिएको उनले बताए ।
नेपालको होटल क्षेत्रले आजको दिनमा नै २५ लाख पर्यटकलाई सम्पूर्ण सुविधा दिन सक्षम रहेको छ ।



लाेकपाटी न्यूज

