‘निजी र सार्वजनिक क्षेत्रको सहकार्य आवश्यक’:  अध्यक्ष प्रचण्ड

Chair-Dahal-Prachanda-1-750x430
लाेकपाटी न्यूज

वालिङ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताएका छन् ।

स्याङ्जाको वालिङमा बिहिबार आयोजित सातौँ वालिङ महोत्सवको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई सहजरुपमा लगानी गर्ने वातावरण बनाउन सक्नुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भने, “देशभित्रै व्यवसायीहरु सुरक्षित भएनन् भने विदेशी लगानीकर्ताहरु लगानीका लागि नेपालमा आउँदैनन् ।” नेपालका लगानीकर्तालाई विदेशमा नभई स्वदेशमै लगानी गर्न आग्रह गर्दै उनले जटिल ऐन नियमलाई सहज बनाउने, लगानीको सुरक्षाका लागि प्रत्याभूति दिलाउने र अन्य विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता रहेको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल सरकार विकास निर्माणका लागि प्रतिबद्ध रहेको बताउँदै सरकारले ठूलादेखि साना काम गर्नेमा विचलित नभएको उल्लेख गरिन् । वालिङ महोत्सवले वालिङ तथा समग्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले महोत्सवको सफलताको शुभकामना समेत व्यक्त गरिन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई बाटो बिराउने छुट नभएको बताए । उनले देश बनाउने जिम्मा सरकारको मात्रै नभई प्रतिपक्षीको पनि भएको उल्लेख गर्दै अब देशलाई अलमलमा मात्रै नराखेर नवीन सङ्कल्पसहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्