काठमाडौं, १७ माघ । डा.गोविन्द केसीको अनसनका कारण विरामी समस्यामा परेकोको भन्दै आक्रोशित बनेका आफन्तहरुले टिचिङ अस्पतालमा प्रदर्शन गरेका छन् ।
उनको जिद्दीपूर्ण अनसनका कारण विरामी समस्यामा परेको भन्दै विरामीका आफन्तहरु आक्रोशित बनेका हुन् । उनीहरुले डा. केसीका माग र अनसनविरुद्ध चर्का नाराबाजी समेत गरेका छन् ।
डा. केसीको अनसनका कारण हजारौं विरामीले सेवा नपाएको, विरामीका आफन्तहरुले तनाव झेल्नु परेको भन्दै आक्रोशित विरामी, आफन्त र सर्वसाधरण समेत विरोध प्रदर्शनमा सहभागी छन् ।
उनीहरुले अस्पताललाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्दै प्रदर्शनमा ‘माफियामुखी अनसन चाँहिदैन, अस्पतालमा अनसन बस्न पाइँदैन, बिदेशी शक्ति मुर्दावाद, माफियामुखी केसीको अनसन चाँहिदैनलगायतका नारा लगाएका छन् ।
इलामबाट १६ औं अनसन शुरु गरेका डा. गोविन्द केसीको अनसन २३ दिन भइसकेको छ । डा. केसीको अनसनका कारण खलबलिएको टिचिङ अस्पतालको सेवाका कारण सर्वसाधरण ठूलो मारमा परिरहेका छन् । केसीको माग पूरा गराउने नाममा अस्पतालको सेवा नै छोडेर चिकित्सकहरु सडक आन्दोलनमा जाने गरेका कारण विरामीले उपचार सेवा पाउन सकिरहेका छैनन् ।
ठूलो रकम तिरेर टाढा टाढाबाट उपचारका लागि टिचिङ अस्पताल आएका विरामी र विरामीका आफन्त चिकित्सकले विरामीको अवस्थालाई वेवास्ता गर्दै आन्दोलनमा हिँडेपछि विरामीका आफन्त आक्रोशित बन्दै आएका हुन् ।
उनीहरुले गम्भीर अवस्थाका विरामीहरुलाई समेत नहेरी ‘आन्दोलनको बेलामा के को उपचार ?’ भन्दै विरामीका आफन्तहरुमाथि रुखो व्यवहार गर्न थालेपछि सर्वसाधरण, विरामी र विरामीका आफन्तहरु आक्रोशमा आएका छन् ।
सरकारी सुविधा खाएर विरामीको उपचारमा संलग्न हुनुपर्ने डाक्टर दिनहुँ आन्दोलन भन्दै बाहिर जाने गरेका कारण वाध्य भएर कर्तव्य भुलिरहेका डाक्टरहरुविरुद्ध आन्दोलनमा उत्रिनु परेको एक विरामीका आफन्तले बताए ।
यस्तै कांग्रेस निकट रहेका विभिन्न संघ संगठनले पनि डा. केसीको जीवन रक्षाको माग गर्दै आजै काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित डा. केसीको सत्याग्रह २३ औं दिन हुँदा समेत माग सम्बोधनका लागि सरकार गम्भीर नदेखिएको भन्दै दवावस्वरुप प्रदर्शन गर्न लागेको उनीहरुले बताएका छन्



लाेकपाटी न्यूज

