एजेन्सी । आईफोन उत्पादक कम्पनी एप्पलले आफ्नो फेसटाइम एपमा प्रयोगकर्ताले कल नउठाएपनि केही समयका लागि जासुसी गर्न मिल्ने समस्या रहेको स्वीकार गरेको छ ।
फेसटाइम कुराकानी गर्न मिल्ने एप हो । केही अवस्थामा आइफोनले प्रयोगकर्ताको जानकारीबिना भिडियो पनि पठाउने गरेको पाइएको छ । एपलले यसको समाधानका लागि यही साता आइफोनको सफ्टवेएर अद्यावधिक गर्ने बताएको छ ।
अद्यावधिक नभएसम्मका लागि भने एप्पलले फेसटाइममा एकैपटक दुई जना भन्दा बढी प्रयोगकर्ताले कुरा गर्न मिल्ने सुविधा हटाएको देखिएको छ ।
प्रविधिसम्बन्धी एउटा ब्लगले सार्वजनिक गरेको उक्त समस्या दुवै प्रयोगकर्ताले १२.१ वा त्यो भन्दा नयाँ भर्सनको मोबाइल अपरेटिङ प्रणाली भएको आइफोन प्रयोग गरेको अवस्थामा देखा पर्ने बताइएको छ ।
समूहमा वार्तालाप गर्दा सो एपले समूहमा निम्ताउने बित्तिकै प्रयोगकर्ताले कल नउठाएपनि आफै मोबाइलको माइक्रोफोनलाई सक्रिय गराइदिने कारणले गर्दा यो समस्या देखिएको हो । कल नउठेर घण्टी जान बन्द भएपछि माइक्रोफोन पुनस् आफैँ बन्द हुन्छ ।
कल काट्दा वा कल आइरहेको बेलामा मोबाइल फोन बन्द गर्दा भने प्रयोगकर्ताको जानकारीबिना छोटो भिडियो कल गर्ने प्रयोगकर्तालाई पठाइने सो ब्लगले बताएको छ । एप्पलले एक प्रेस विज्ञप्तिमा हामीले समस्याका बारेमा थाहा पायौँ र हामीले यसको समाधान निकालेका छौँ जुन यो साता नै अद्यावधिक गरिने भनेको छ ।
सामाजिक सञ्जालहरूमा ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सेसहित अन्यले फेसटाइमलाई निष्क्रिय पार्न सुझाव दिएका छन्।
एप्पलका प्रमुख टिम कूकले नेतृत्व गरेर अमेरिकामा मनाइएको राष्ट्रिय गोपनीयता दिवसकै दिन आइफोनमा रहेको यस्तो गोपनीयता भङ्ग हुने समस्या सार्वजनिक भएको हो ।



लाेकपाटी न्यूज

