आरक्षण होइन, योग्यता विकास गर्नुहोस् : प्रचण्ड

prachanda -11
लाेकपाटी न्यूज

चितवन, १७ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घका महिला विभागले बिहीबार जिल्लाको पटिहानीमा आयोजना गरेको पत्रकार महिलाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आरक्षण प्राप्त गर्नेतर्फ ध्यान केन्द्रित नगरी महिलाले आफूलाई योग्य सावित गर्नेतर्फ केन्द्रित गर्नुपर्ने बताए ।

दाहालले आरक्षणले क्षमतामा अवरोध सिर्जना गर्ने भन्दै योग्यता विकास गर्न सुझाव दिए । उनले पत्रकार महिलालाई इङ्गीत गर्दै भने, ‘तपाईंहरु नेतृत्व तहमा नै आउँदै हुनुहुन्छ, अध्यक्ष बन्नुपर्छ, त्यो अब महिला मुक्ति आन्दोलनका रुपमा लिनुपर्छ ।’

इतिहासको महत्वपूर्ण क्षणमा हामी रहेको भन्दै उनले भने, ‘हाम्रो अगाडि अवसर छ, धेरै वर्षको मेहनत र बलिदानबाट प्राप्त यो अवसरलाई सदुपयोग गर्नुपर्छ ।’ सबै वर्ग, क्षेत्र, समुदायको एकता नभएको भए अहिलेको राजनीतिक परिवर्तन सम्भव नहुने भन्दै उहाँले यसलाई कार्यान्वयन गर्ने अहिलेको चुनौती रहेको बताए ।

राष्ट्रको एकतालाई अझ मजबुद बनाउनुपर्ने भन्दै उनले भने, ‘एकतालाई अझ मजबुत कसरी गर्ने, प्रगतिशील परिवर्तनलाई कसरी संस्थागतरुपले कार्यान्वयन गर्ने र समृद्धिको यात्रालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्ने बेला आएको छ ।’

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पुरुष पुग्ने ठाउँमा महिला पुग्न नसकेको भन्दै प्रतिष्पर्धी ढङ्गले काम गर्न पत्रकार महिलालाई आग्रह गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्