नेपालले निमार्ण गरेको पहिलो भूउपग्रह

satallite
लाेकपाटी न्यूज

भक्तपुर, १७ माघ । भक्तपुरका एकजना नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्न मिल्ने ‘पिको पकेट क्युब’ भूउपग्रह निर्माण गरेका छन्। उनले ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टिमिटर चौडा भूउपग्रह निर्माण गरेका हुन् ।

उनले भक्तपुरको कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिको वान’ तयार गरेका हुन् । यो सानो २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा राखेर हिँड्न मिल्नेछ ।

उनले यस योजनाअनुसार जाने हो भने २०२० को मध्यसम्ममा पिको स्याटलाइट अन्तरीक्षमा पुग्ने बता्रएका छन् । उनले भने, ‘अहिलेसम्म इन्जिनियरिङतर्फका ७५ प्रतिशत काम सम्पन्न भएको छ। हामी अन्तरिक्षमा प्रक्षेपण गर्न मिल्ने सानो स्याटलाइट बनाउन सफल भएका छौँ ।’

पौडेलले विगत दुई वर्षदेखि गर्दै आएको परिश्रमको परिणमस्वरुप पकेट क्युब तयार भएको बताए । पौडेल र भक्तपुरको ख्वप इन्जिनियरिङ कलेजमा अध्ययन गरिरहेका विद्यार्थीले कमलविनायकस्थित ओराइन स्पेश कम्पनीमा ल्याब पिको भूउपग्रहलाई अन्तिम रुपमा दिइरहेका छन्।

उनीहरुले दैनिक जस्तो छलफल गरेर कामका बाँडफाँट गर्दै काम गर्ने गरेका छन् । नियमित रुपमा ५ जना काम गरिरहेको भए पनि विज्ञान र इन्जिनिरिङका २५ साथीहरु यसमा जोडिएको उनले बताए । ओराइन स्पेशका जितेन थापाले भने, ‘महिनामा एक पटक सबै जम्मा हुन्छौं। छलफल हुन्छ, जिम्मेवारीको बाँडफाँट पनि हुन्छ ।’थापा र पौडेल काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनिरिङमा स्नातक हुन्। अभिनव मैनाली, रुकेस प्रजापति र राजेश धुसुका इन्जिनियरिङकै विद्यार्थी हुन्। उनले यसमा इलोक्ट्रिकल इन्जिनियरिङको पनि पावर र कम्युनिकेसन विषय अध्ययन गर्ने बिद्यार्थी बढी रहेको बताए ।

नेपालमा भूउपग्रह निर्माण गर्न स्विट्जरल्यान्डका भू–उपग्रह र अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनीमा काम गर्ने नेपाली राकेश प्रजापतिले ओराइन स्पेस स्थापना गरेका हुन्। प्रजापतिकै नेतृत्वमा नेपालमा विद्यार्थीहरुले काम गरिरहेका छन्। प्रजापति काठमाडौं विश्वविद्यालयका पूर्व विद्यार्थी हुन्। बिइ तेस्रो वर्ष अध्ययनको क्रममा पिको भूउपग्रह निर्माण गर्ने विषयका काम शुरुवात भएको पौडेलले बताए ।

‘पहिलो क्यान स्याटको काम गर्दथ्यौं,’ पौडेलले भने, ‘राकेश दाईसँग भेटपछि पिको स्टयाटलाइट निर्माणका विषय शुरु भएको हो । हामी निरन्तर रुपमा सम्पर्कमा रहेर काम गरिरहेका छौं।’ थापाले शुरुमा शैक्षिक परियोजनाको रुपमा गर्ने भनेपछि विश्वविद्यालयभन्दा बाहिर कम्पनी स्थापना गरेर काम शुरु गरेको बताए ।

क्यान स्याटले भूउपग्रहसम्बन्धी सिस्टमले कसरी काम गर्छ भनेर प्रयोगात्मक रुपमा सिकाउने काम हुन्छ। उनीहरुले पिको भूउपग्रह बनाउन दश लाख रुपैयाँ खर्च भइसकेको छ। विद्यार्थीहरुले आफूले बनाएको सानो भूउपग्रह पृथ्वीका सतहभन्दा ५ सय किलोमिटर माथि अन्तरीक्ष परिक्रममा गर्नेछ । जुन प्रतिसेकेन्ड ७ दशमलव २ किलोमिटर दरले पृथ्वीको परिक्रमा गर्नेछ ।

यसले अन्तरिक्षमा रहेको रेडिएसनका परिणामका मापन गर्नेछ र प्रत्येक ९० मिनेटमा पृथ्वीको एक फन्को लगाउने छ । नेपाली विद्यार्थीले बनाएको यो पिको भूउपग्रहको भाइब्रेसन र इन्भारामेन्टल परीक्षण हुन बाँकी छ । रकेटमा पठाउँदा उत्पन्न हुने भाइब्रेसनमा हामीले प्रयोग गरेको स्याटलाइटका हार्डवेयर टिक्छ वा टिक्दैन र अन्तरिक्षमा राखेपछि त्यहाँका अवस्थामा यो कतिका काम गर्छ भनेर जाँच गर्नुपर्ने पौडेल बताउँछन् । नेपालमा यस्तो परीक्षण गर्ने प्रयोगशाला छैन । यो परीक्षणका लागि विदेश पठाउनु पर्ने उनको भनाई छ । विदेश पठाउँदा ८–१० लाख रुपैयाँसम्म खर्च हुन्छ ।

पिको स्याटलाइट निर्माण गरे पनि त्यसलाई प्रक्षेपण गर्ने विषयमा नेपालमा कुनै कानुनी व्यवस्था छैन । ‘यसको सिस्टमअनुसार एमेच्युरो रेडियोमा कम्युनिसेन हुन्छ तर त्यसको ब्यान्ड लिने व्यवस्था हाम्रो कानुनमा छैन। सरकारले ब्यान्ड उपलब्ध गराइदिनुपर्ने हुन्छ,’ पौडेल भन्छन्, ‘यो विषयमा सरकारले कानुन संशोधन गर्नेदेखि सिफारिस गर्नेसम्मका काम गरिदिनु पर्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्