काठमाडौं, १७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ । बिहिबार दिउँसो दुई बजे बोलाइएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो । सम्झौता विपरीत विधेयक ल्याइएको विरोधमा डा। गोविन्द केसी २३ दिनदेखि अनशनमा छन् ।
राष्ट्रियसभामा बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिक मन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ ।
यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फछ्र्यौट विधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विज्ञापन (नियमन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन विधेयकबारेको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव गर्ने भएका छन् ।



लाेकपाटी न्यूज

