संगठन र नागरिकको श्रीवृद्धिमा लाग्नुस् : महानिरीक्षक खनाल

padchinha3458
लाेकपाटी न्यूज

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायब उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

गृह मन्त्रालय सचिवस्तरीय निर्णयअनुसार पदोन्नति भएका ४१ मध्ये ३८ प्रहरी अधिकृतलाई खनालले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । तीन जना भने संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रहेकाले दर्ज्यानी चिन्ह प्रदान गर्न बाँकी छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सङ्गठनलाई आधारभूत रुपमा बलियो र गतिशील बनाउन प्राविधिक प्रहरी कर्मचारीको अह्म भूमिका रहेकाले सङ्गठन र सेवाप्रतिको निष्ठा, आफ्नो क्षमता, व्यावसायिकता, इमान्दारी, सार्थक र सकारात्मक सोचसहित सङ्गठनको श्रीवृद्धिमा लाग्न निर्देशन दिए ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय सङ्कल्पलाई मनन गरी नेपाल प्रहरीको तर्फबाट पूर्ण कटिबद्ध भई काम गर्नुपर्नेमा जोड दिए । नेपाल प्रहरीले ल्याएको समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी कर्मचारी पनि टोलटोलमा खटिएर यसको सफलतामा योगदान दिन उनले आग्रह गरे। प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन क्रियाशील भएर लागेको बताए ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतका तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायब उपरीक्षक दीपकराज अवस्थीले पदोन्नतिले मनोबल अझै उच्च भएकाले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न आफूहरु कटिबद्ध रहने उल्लेख गरे ।

पदोन्नति हुनेमा प्रहरी नायब उपरीक्षकमा १२ जना र प्राविधिक प्रहरी निरीक्षकमा २९ जना गरी ४१ जना छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्