‘जाँगरिलो बनौं, गाली गरेर मात्रै देश बन्दैन’ : मन्त्री अर्याल

Padma Aryal (6)
लाेकपाटी न्यूज

पोखरा, १६ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याल अल्छी गरेर र नेताहरुलाई गाली गरेर मात्र देश नबन्ने बताएकी छिन् ।

राष्ट्रिय सहकारी विकास बोर्डद्वारा पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन विषयक गण्डकी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उनले भनिन्, ‘हामी धेरै अल्छी भएका छौं, हामी अरु देशको उदाहरण त दिन्छौं । तर, आफू काम गर्दैनौं । अरुलाई गाली गरेर मात्र देश बन्दैन, देश बनाउन आफ्नै सीप र जाँगर चाहिन्छ ।’

देशको मुख्य शत्रु रहेको गरीबीको अन्त्य गर्न देशभित्रै रोजगारी सिर्जना हुनुपर्ने उनले बताइन् । देशलाई समृद्धिको मार्गमा उन्मुख गराउने लक्ष्यका साथ सरकार क्रियाशील भएको बताउँदै मन्त्री अर्यालले आर्थिक समृद्धिमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

नेपालको पश्चिमी भू–भागमा सहकारीप्रतिको जागरण बढेको र पूर्वमा यसले व्यावसायिकरुप लिएको चर्चा गर्दै उनले देशव्यापी रुपमा सहकारीको व्यावसायिकता वृद्धि गरिनुपर्नेमा जोड दिइन् । परिवर्तित संरचनाअनुसार कर्मचारीको पूर्ण रुपमा व्यवस्थापन हुन नसकेका कारण काममा केही अन्यौलता भएको बताउँदै मन्त्री अर्यालले कर्मचारी व्यवस्थापनलाई चाँडै नै टुङ्गोमा पुर्याउने जानकारी दिइन् ।

देशमा रहेका ३४ हजारभन्दा बढी सहकारीलाई व्यवस्थित गरिने उनले बताइन् । मुलुकमा सुकुम्वासी समस्या समाधान हुन नसकेको बताउँदै मन्त्री अर्यालले उनीहरुको पहिचान गर्दै वर्गीकरणका आधारमा व्यवस्थित गरिने उल्लेख गरिन् । जग्गा बाँझो राख्ने प्रवृत्तिले देश अपेक्षित विकास हुन नसकेको औँल्याउँदै उनले जग्गा बाँझो राख्नेलाई कारवाही गरिने स्पष्ट पारे ।

गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले मुलुकले तीन खम्बे अर्थनीतिलाई आत्मसात् गरेको बताउँदै सहकारी आर्थिक समृद्धिका लागि एउटा महत्वपूर्ण पाटो भएको उल्लेख गरिन् । जिल्ला समन्वय समितिका संयोजक वैनबहादुर क्षेत्रीय सहकारीको लगानी उत्पादनमुखी हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, राष्ट्रिय सहकारी महासङ्घका चन्द्र ढकाललगायतले सहकारी क्षेत्रले देशको समृद्धिमा खेल्दै आएको भूमिकाबारे बोलेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्